काठमाडौं- सरकारले कोरोना महामारी राेकथाम तथा नियन्त्रणका लागि बनाएको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) अब अस्तित्वमा नरहने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार 'कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश, २०७८' जारी गरेसँगै सीसीएमसी खारेज हुन पुगेको हो।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले जारी गरेको उक्त अध्याधेश शुक्रबार राजपत्रमा प्रकाशित भएसँगै कानुनको हैसियत पाइसकेको छ।
अध्यादेशमा कोभिड-१९ व्यवस्थापनका लागि प्रधानमन्त्रीको नेतृत्वमा १० सदस्यीय निर्देशक समिति बनाउने प्रस्ताव गरिएको छ। योसँगै उपप्रधानमन्त्रीको नेतृत्वमा रहँदै आएको सीसीएमसीको अस्तित्व रहने छैन।
प्रधानमन्त्री अध्यक्ष रहने गरी निर्देशक समितिमा उपप्रधानमन्त्री सदस्यमात्र रहने छन्। त्यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्री, गृह, अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति र परराष्ट्र मन्त्री, मुख्यसचिव, प्रधानसेनापति संयन्त्रको सदस्य रहने अध्यादेशमा उल्लेख छ। हाल कायम रहेको सीसीएमसीको विकल्पमै यो प्रस्ताव गरिएको देखिन्छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।