काठमाडौं- अमेरिकाको जर्जिया राज्यमा मंगलबार तीन वटा ‘स्पा’मा भएको गोलीबारीमा मृत्यु भएका ८ मध्ये ६ जना कोरियाली नागरिक भएको पुष्टि भएको छ।
जर्जियाको एट्लान्टास्थित अक्वर्थनजिकै योङ एसियाली मसाज सेन्टरमा स्थानीय समय अनुसार मंगलबार बेलुका ५ बजे (नेपाली समय अनुसार बुधबार बिहान पौने ३ बजे) पहिलो गोलीकाण्डमा ४ जना मारिएको थिए। मारिनेमा दुई महिला कोरियन, एक श्वेत महिला र एक श्वेत पुरुष अमेरिकी रहेको खुलेको छ। एक विदेशी पुरुष घाइते भएका छन्।
त्यसको एक घण्टा पछि एट्लान्टा पुलिस विभागले उत्तरपूर्वी एट्लान्टामा दुई व्यावसायिक संस्थाहरूमा ४ महिला मृत अवस्थामा फेला परेको जनाएको छ। विभागका अनुसार ती मृतक गोल्ड मसाज ‘स्पा’ र अरोमा थेरापी ‘स्पा’मा भेटिएका हुन्।
चारै महिला कोरियाली नागरिक भएको एट्लान्टा जर्नल–कन्स्टिच्युसनले उल्लेख गरेको छ। प्रहरी घटनामा संलग्न रहेको आरोपमा एक २१ वर्षीय श्वेत व्यक्ति रोबर्ट आरोन लङलाई हिरासतमा लिएको छ।
लङलाई एट्लान्टाबाट २४० किलोमिटर पच्छ्याएर पक्राउ गरिएको जर्जियाको सुरक्षा विभागले फेसबुकमा जानकारी दिएको छ। स्थानीय प्रहरी अधिकारीकाअनुसार लङले आफू ’यौन दुर्व्यसन’ मा परेको दाबी गरेका छन्। उनीबाट एउटा ह्यान्डगन बरामद गरिएको थियो भने पक्राउ गर्दा उनले प्रतिरोध गरेका थिएनन्।
अमेरिकाकाे कतै कतै मसाज पार्लरमा यौन व्यापार हुने गरेको छ। तर, स्थानीय अधिकारीहरूका अनुसार आक्रमण भएको स्थानमा त्यस्तो कुराको कुनै सङ्केत नदेखिएको बताइएको छ। आक्रमणको कारण खुलेको छैन। तर, पछिल्ला महिनामा अमेरिकामा एसियाली मूलका मानिसमाथिको हिंसा बढ्दै गएको छ।
पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस फैलनुमा चीन मुख्य दोषी रहेको विवादास्पद अभिव्यक्ति दिएपछि चिनियाँ र कोरियाली नागरिकमाथि आक्रमण बढ्दो छ। यो आक्रमण अहिलेसम्मकै सबैभन्दा ठूलो भएको चर्चा हुन थालेको छ।
घटनापछि चिनियाँ र कोरियाली मूलका नागरिकहरु त्रसित बनेका छन्। एन्टी हेट डिफेमेसन लिगले बुधबार अमेरिकामा बढ्दो घटनाको रिपोर्ट जारी गरेको छ। रिपोर्टका अनुसार सन् २०१९ मा रंगभेद, जातिवाद र अन्य घृणाको २७ सय २४ घटना भएका थिए। तर, २०२० मा ५१ सय २५ घटना भएको थियो। १९ को तुलनामा यो संख्या झन्डै दोब्बर हो।
पछिल्लो दशकमा घृणा अपराध वृद्धि भएको छ। संगठनले भनेको छ, ‘अनलाइन प्लेटफर्महरूमा घृणा गर्ने जमात बढेको छ, जुन ट्र्याक गर्न पनि धेरै गाह्रो छ।’
एसियन-अमेरिकी एडभान्सिङ्ग जस्टिसका संस्थापक कोनी चुङ्ग जोईले चिनियाँ र एसियाली मूलका मानिसहरुमा भएका हमलाहरु प्रहरीले दिएको रिपोर्टभन्दा धेरै बढी रहेको दावी गर्छन्।
‘धेरैले आक्रमण र उत्पीडनको घटना रिपोर्ट गर्दैनन् किनभने प्रहरीले त्यस्ता घटनाहरूमा केही गर्दैन,’ उनले भने।
कोरोनाको संक्रमण सुरु भएपछि एफबीआईले एसियाली मूलका नागरिकहरुमाथि आक्रमण बढ्ने चेतावनी दिएको थियो। तर, जातीय आक्रमणहरू अपेक्षितभन्दा बढि घटेका छन्।
न्युयोर्कको चाइना टाउनमा स्पा सेन्टर सञ्चालन गर्दै आएका ४७ वर्षीया लुईसा याङ्ग भन्छिन्, ‘मैले जीवनमा यस्तो डर कहिल्यै देखेको थिइनँ। पहिलोपटक मलाई न्युयोर्क जस्ता शहरमा एक्लै बाहिर हिँड्न डर लाग्न थालेको छ। मलाई थाहा छैन कहिले ममाथि आक्रमण हुन्छ।
अमेरिकामा सबैभन्दा बढी आक्रमणहरू चिनियाँहरु माथि भएको छ। बिगतको रेकर्ड हेर्दा ४० प्रतिशत आक्रमण चिनियाँमाथि देखिन्छ। यता कोरियनमाथि १५ र फिलिपिन्समाथि ८ प्रतिशत आक्रमण भएको देखिएको छ।
न्युयोर्कमा मार्च र डिसेम्वरको बीचमा दक्षिण एसियाली नागरिकमाथि तीन हजारभन्दा बढी आक्रमण भएको छ।
न्युयोर्कमा मात्रै २०१९ मा १० गुणा बढी आक्रमणहरू भएका छन्। यी आक्रमणका अधिकांश पीडितहरू चीन, ताइवान र थाईल्याण्ड मूलका नागरिक हुन्।
न्युयोर्क शहरका मेयर बिल डी ब्लासियोले यस प्रकारको आक्रमणले आप्रवासीमाथि अन्याय भएको बताएका छन्। आक्रमणलाई रोक्नका लागि उनले प्रवासी नेतासँग एक बैठक राख्नेछन्।
(बिबिसी र वासिंटन पोस्टमा प्रकाशित सामग्रीहरूमा आधारित)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।