काठमाडौं- स्याङ्जाको वालिङ नगरपालिकाले राष्ट्रिय महिला लिग फुटबलमा विभागीय टिम नेपाल पुलिस क्लबसँग बराबरी खेलेको छ। वालिङले पुलिससँग १–१ गोलको बराबरी खेलेको हो।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा बलियो टिम पुलिसलाई वालिङले बराबरीमा रोक्न सफल भएको हो।
लिङकी क्यामरण खेलाडी मेथो इलुडी रुथले गोल गरिन्। पुलिसकी रेखा पौडेलले गोल फर्काइन्।
पहिलो हाफसम्म दुबै टिमले गोलरहित बराबरी खेलेका थिए। दोस्रो हाफमा वालिङले लिएको अग्रतालाई जोगाउन नसक्दा पुलिससँग बराबरी खेलेको हो। खेलको ५३ औं मिनेटमा रुथले गोल गर्दै वालिङलाई अग्रता दिलाइन्। तर यो अग्रता धेरै बेर टिकेन।
खेलको ६६ औं मिनेटमा रेखा पौडेलले गोल गर्दै पुलिसलाई १–१ गोलको बराबरीमा फर्काइन्। बाँकी समयमा दुबै टिमले गोल गर्न नसकेपछि खेल बराबरीमा सकिएको हो। पुलिसविरुद्ध महत्वपूर्ण अंक खोसेको वालिङका प्रशिक्षक विभागीयलाई बराबरीमा रोक्न पाउँदा खुशी रहेको बताए।
राष्ट्रिय महिला लिगअन्तर्गत बुधबार एक खेल मात्रै हुँदैछ। मोरङको विराटनगर महानगरपालिकाले उदयपुरको चौदन्डीगढीसँग प्रतिस्पर्धा गर्दैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।