भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुईदिने राजकीय भ्रमणमा आउँदै छन्। उनको नेपाल भ्रमणबारे नेपाल–भारतबीच बिग्रिएको भनिएको सम्बन्ध सुधारका प्रयास, धर्मकर्म, भारतमा नजिकिँदो चुनाव आदि विषयलाई केन्द्रित गरी विश्लेषण भइरहेको छ। त्यसमा ओली राष्ट्रवाद, भ्रमणको औचित्य त जोडिने भइहाल्यो।
नरेन्द्र मोदी पहिलो पटक सन् २०१४ मा नेपाल आउँदा चिया पसलमा गफ हुन्थ्यो– मोदीले काठमाडौंबाट चुनाव लडे भने पनि जित्छन्। तर, ती मोदीको त्यतिबेलाको र अहिलेको लोकप्रियतामा आकाश जमिन फरक परिसकेको छ। नाकाबन्दीपछि मोदीप्रति नेपाली आक्रोशित छन्। अहिले पनि त्यो आक्रोशमा कमी आएको छैन।
नेपालमा आफूप्रति फेरिएको धारणा बुझेरै हुनसक्छ मोदी जनकपुर पुगेर मात्र काठमाडौं आउँदै छन्। मानिसको ध्यान आफूतिर खिच्न र लोकप्रियता हासिल गर्न खप्पिस नेताका रूपमा चिनिन्छन् मोदी। यसपटक उनले जनकपुरमा त्यो क्षमताको प्रयोग गर्न सक्छन्। त्यसैले पनि उनले त्यहाँ के बोल्छन् भन्ने आमचासोको विषय बनेको छ।
भारतको कूटनीतिक जित कि नैतिक हार?
भारत कूटनीतिक अभ्यासमा हामीभन्दा परिपक्व छ। नाकाबन्दीको समयमा, हामीले नाकाबन्दी हो भनिनसक्दै उसले विश्वलाई सुरक्षाका कारण गाडी आवतजावतमा समस्या भएको बताइसकेको थियो। भारतमा मोदी मात्र होइन उनीभन्दा अगाडिका सरकारले पनि नेपाललाई अनेक किसिमका दुःख दिने गरेको पाइन्छ। नेपाललाई आफ्नो हितअनुकूल हिँडाउन उसले सक्दो प्रयास गर्ने गरेको तथ्य लुकेको छैन। निश्चय नै पछिल्ला सरकारहरु मार्फत पनि उसले त्यो प्रयास गरी नै रह्यो।
जब ०७२ मा नेपालमा संविधान जारी हुन लागेको थियो, भारतले त्यसलाई रोक्न र असन्तुष्ट पक्षलाई समेटेर जान भन्यो। तर, त्यसबेला प्रमुख तीन दलले आन्तरिक मामिला भन्दै भारतको कुरै नसुनी संविधान जारी गरी छाडे। भारतले नरुचाएका भनिएका तत्कालीन प्रधानमन्त्री सुशील कोइराला संविधान जारी भएपछि प्रधानमन्त्रीका लागि केपी शर्मा ओलीसँग प्रतिस्पर्धामा उत्रिएपछि भारतनिकट भनेर उनको आलोचना हुन थाल्यो। उनलाई त्यही प्रतिस्पर्धासँग जोडेर मृत्युपछि पनि आलोचना गर्ने गरिन्छ। अर्कोतर्फ, भारत निकट भनेर चिनिएका केपी ओली त्यसपछि एकाएक भारतविरोधी भए। राष्ट्रवादी कहलिए।
प्रधानमन्त्री ओलीलाई केही समयमै प्रचण्ड र देउवा मिलेर सरकारबाट हुत्याए। अब, भारत परस्त आरोपित हुने पालो आयो, प्रचण्ड र देउवाको। उता, ओली झनै राष्ट्रवादी नेता भएको प्रचारित हुन थाल्यो। सोही छविलाई एमालेले चुनावमा राम्रै प्रयोग गर्यो। जित्यो पनि।
यसबीच भारतीय प्रधानमन्त्री मोदी नेपालमा झनै अलोकप्रिय बन्दै गएका थिए। छिमेकमै बदनाम भएको मोदी सरकारको देशभित्रै व्यापक आलोचना भयो। नाकाबन्दीको अस्त्र उसलाई फलिफाप भएन। नेपाल नीतिमा ऊ सफल भएन।
तर, मोदी फेरिएजस्तो देखिएका छन्। त्यसले पनि यो भ्रमण अनौठो हुँदै गएको छ। उनले प्रदेश २ मा गएर जनतालाई सम्बोधन गर्ने भएका छन्। तर, नाकाबन्दीपछि असफल हुँदै गएका मोदी जनकपुरमा जनसम्बोधन गर्न पाएर नयाँ रणनीतिमा सफल हुने संकेत देखिन थालेको छ। एक हिसाबले भन्दा त्यो उनको जित नै हुनेछ।
नेपाल सरकारले सुरक्षा बाहेक अरू केही पनि जिम्मा नलिएको जस्तो भान हुन्छ, अहिले। जसले गर्दा मोदीका अतिरिक्त नेपाल सरकार र प्रधानमन्त्री ओलीको पनि आलोचना हुने गरिरहेको छ। तर, जति नै आलोचना भए पनि मोदीको स्वार्थले विजय पाइरहेको छ।
नेपाल-चीनको नजिकिँदो सम्बन्ध
पहिलो पटक सरकार सञ्चालन गर्दादेखि नै ओलीको सपना भनेको रेल कुदाउने हो। भाषणमा मात्र होइन, चुनाव घोषणापत्रमा पनि प्राथमिकताका साथ त्यो कुरा उठाइएको छ। त्यसैले अहिलेको सरकारको प्राथमिकतामा जसरी पनि रेल चलाउने अथवा सकिएन भने अर्को चुनावसम्ममा रेल ल्याउने स्पष्ट आधार जनताले देख्ने गरी तयार गर्ने हो। ओलीको यो सपनासँग चीन जोडिएपछि भारत झस्कियो। उसले आफूले पनि नेपालमा रेल कुदाउने चाहना देखायो।
प्रधानमन्त्री ओलीको भारत भ्रमणमा संयुक्त वक्तव्यमार्फत भारतीय चाहनाले मूर्तरुप पायो। रेलबारे सम्झौता भयो। महत्त्वाकांक्षी रेलवे परियोजना चुट्कीको भरमा सम्पन्न त नहोला तर पनि अहिलेको सरकारको रेल मोहलाई बुझेर भारत चीनभन्दा अगाडि बढ्न खोज्यो।
जानकारहरूका अनुसार, भारत भ्रमणका समयमा प्रधानमन्त्री ओली चीन पुग्नुपर्ने थियो, तर उनी चीन भ्रमणलाई थाँती राखेर भारत नै गए। त्यसपछि पनि उनी चीन जाने अपेक्षा गरिएको थियो। तर, मोदीको चाहनाको अगाडि नेपाल पक्षको केही लागेन। अनि अपरिपक्व भ्रमण गरियो र गराइँदै छ।
भारतले नेपाल आफ्नो प्रभावबाट फुत्केको छैन भन्ने देखाउन खोज्दै छ र नेपाल सोही रूपले प्रस्तुत हुँदै पनि छ। त्यो अन्य कारणले होइन, भारतीय भुमरीमा नेपाल सरकार फस्नाले हो। भारतको कूटनीतिक प्रयास भनेको दक्षिण एसियामा चीनको प्रभाव बढ्न नदिने हो र आफ्नो दबदबा कायम राखिराख्ने हो। अहिले त्यही भइरहेको छ।
ओलीको राष्ट्रवादी छवि
ओली र समग्रमा वाम गठबन्धनको उदय हुनुको मुख्य आधार थियो, राष्ट्रवाद। विशेगगरी ओली राष्ट्रवाद। त्यो राष्ट्रवादको एउटै विशेषता थियो नाकाबन्दीका बेला ओलीले लिएको अडान। जसका कारण उनले प्रशंसा पनि बटुले। उनलाई एकाएक राजनेताको उपमा दिइयो। एक जना राजनीतिक विश्लेषकले चुनाव सक्किए लगतै भनेका थिए, ओलीले नाकाबन्दीको विरोधले र राष्ट्रवादको नाराले चुनाव त जिते तर उनी चीन पहिला नगई भारत गए भने उनको राष्ट्रवादलाई दोहोरो राष्ट्रवादको उपमा दिइनेछ।
अहिले यही बहस सुरु भएको छ। उनको आलोचना हुने गरेको छ। राष्ट्रवादी नाराहरु चुनाव जित्ने खेल मात्र भएको भनी टीका टिप्पणी हुन थालेको छ। यस्तै, आलोचनाले निरन्तरता पाउने हो भने गुमेको आफ्नो छबि फर्काउन खुबै मिहिनेत गर्नुपर्नेछ।
मोदीको स्वार्थपूर्ण भ्रमणबाट नेपालले धेरै आशा गर्नु उचित छैन। मोदी 'अर्ध-तिर्थालु' भएर नेपाल आउँदै छन्। त्यही पनि केही महत्त्वपूर्ण विषयवस्तु छन्, जुन यहीबेला नेपालले उठान गर्न जरुरी छ। सीमा क्षेत्रमा भारतीय बाँधले पारेको असर एउटा त्यस्तै उठाइहाल्नुपर्ने र समाधान खोजिहाल्नुपर्ने विषय हुनसक्छ। कारण, अबको दुई महिनामै नेपालमा वर्षायाम सुरु हुन्छ, त्यसको क्षति नेपालीले ब्यहोर्नुपर्छ। 'राष्ट्रवादी प्रधानमन्त्री'को परीक्षण हुने यस्तै कुरामा हो।
विश्लेषकहरुका कुरामा ध्यान दिने हो भने, मोदी भ्रमणको दुई कारण छन्। पहिलो, उनी भारतको नजिकिँदै गएको चुनाव जित्ने आधार तयार पार्न यहाँ आएका हुन्। दोस्रो, नेपालमा चीनको प्रभाव कम पार्न चाहन्छन्। कति सफल हुन्छन्, त्यो त भविष्यले नै देखाउला।
तर, अहिलेसम्मको घटनाक्रमलाई हेर्दा आफ्नो स्वार्थ रक्षा गर्ने मामिलामा हामी भने चुकिरहेका छौं। भारतले हामीलाई प्रयोग गरेरै आफ्नो पुरानो रणनीतिलाई निरन्तरता दिँदै आएको छ। सफल पनि भएको छ। हामीले बुझेर वा नबुझेर त्यसलाई सहयोग गरिरहेका छौं। त्यसमा ओलीको भूमिका कति भन्ने कुरा केही समयपछि राम्रैसँग मूल्यांकन हुन थाल्नेछ। तर, उनीसँग आफ्नो बचाउका लागि धेरै तर्क भने नहुन सक्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।