काठमाडौं–वाणिज्य बैंकहरुले ७४८ स्थानीय तहमा आफ्ना शाखा कार्यालय सञ्चालनमा ल्याएका छन्। नेपाल राष्ट्र बैंकले गत वर्ष नै सम्पूर्ण बैंकहरुलाई स्थानीय तहमा पुग्ने निर्देशन दिए पनि अझै ५ वटा स्थानीय तहमा वाणिज्य बैंकहरु पुग्न नसकेका हुन्। ताप्लेजुङ, धादिङ, जाजरकोट र बझाङका ५ स्थानीय तहमा शाखा कार्यालय खुल्न बाँकी रहेको छ।
राष्ट्र बैंकका अनुसार ताप्लेजुङको मिक्वाखोला, धादिङको रुवी भ्याली र नेत्रावती, जाजरकोटको जुनीचाँदे र बझाङको काँडा गाउपालिकामा शाखा कार्यालय पुग्न सकेका छैनन्।

जम्मा ७ सय ५३ स्थानीय निकायमध्ये प्रदेश २, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका सम्पूर्ण स्थानीय तहमा बैंकिङ सेवा पुगिसकेका छन्। नेपाल राष्ट्र बैंकले २०७४ असार मसान्तसम्ममा सम्पूर्ण स्थानीय तहमा शाखा कार्यालय पुर्याउन निर्देशन दिएको थियो। बैंकहरुले नमानेपछि गोलाप्रथामार्फत् दुर्गम तहका स्थानीय तहमा अनिवार्य शाखा कार्यालय खोल्न निर्देशन दिएको थियो।
राष्ट्र बैंकले नेपालभर वित्तीय पहुँच पुर्याउने नीति लिएको छ। अनौपचारिक रुपमा हुने कारोबारलाई औपचारिक प्रणालीमा ल्याउन सम्पूर्ण स्थानीय तहमा बैंकहरुको पहुँच पुर्याउन लागिएको हो। सहरकेन्द्रित बैंकिङ सेवालाई गाउँ–गाउँमा पुर्याउने उद्देश्यले यस्तो कदम चालिएको राष्ट्र बैंकले जनाएको छ। हाल वाणिज्य बैंकका ४ हजार ५१५ वटा शाखा कार्यालय रहेका छन्। त्यस्तै विकास बैंकका एक हजार २३, फाइनान्सका २४९ वटा र लघुवित्त वित्तीय संस्थाका ४ हजार ११४ वटा शाखा कार्यालय सञ्चालनरत छन्।
हालसम्म बैंक तथा वित्तीय संस्थाहरुले २ करोड ८२ लाख वटा बचत खाता सञ्चालनमा ल्याएका छन्। यसमध्ये पुरुषको ४८ प्रतिशत रहेको छ भने महिलाको ३२ प्रतिशत रहेको छ। अझै पनि बैंकको पहुँचमा पुरुष हाबी छन्। जसमध्ये वाग्मती प्रदेशमा मात्रै ८४ लाख ६० हजार वटा बचत खाता रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।