भारत- मध्यप्रदेश प्रहरीले अनलाइन स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्सका दुई अधिकारी विरुद्ध मुद्दा दायर गरेको छ। बेब सिरिज 'अ स्विटेबल ब्वाइ'मा मन्दिरमा चुम्बनको दृष्य देखाएर धार्मिक भावनामा आघात पुर्याएको भन्दै मुद्दा दायर गरिएको हो।
प्रहरीले भारतीय जनता युवा मोर्चाका राष्ट्रिय सचिव गौरव तिवारीको उजुरीमा उक्त मुद्दा दर्ता गरेको हो। मध्य प्रदेशको रिवा सहरमा रहेको सिभिल लाइन्स पुलिस थानामा नेटफ्लिक्सका दुई अधिकारी मोनिका शेरगिल र अम्बिका खुरानाविरुद्ध मुद्दा दायर गरेको हो।
प्रदेशका गृहमन्त्री नरोत्तम मिश्राले उक्त दृष्यले एक विशेष धर्मको भावनामा ठेस पुर्याउने भएकाले कारबाही प्रक्रिया थालिएको बताएका छन्।
उक्त चुम्बनको दृष्य महेश्वर कस्बेको एक मन्दिरमा सुटिङ गरिएको जस्तो नदेखिएको खरगोनका जिल्ला अधिकारी अनुग्रह पीले बताएका छन्। तर उजुरी गर्ने गौरवले महेश्वरकै नर्मदा किनारको एक शिव मन्दिरमा दृष्यांकन गरिएको बताएका छन्।
नेटफ्लिक्समा ६ भागमा प्रसारित सिरिज अ स्विटेबल ब्वाइको प्रसिद्ध निर्माता–निर्देशक मीरा नायरले सिर्जना गरेकी हुन्। नायर सलाम बम्बे मनसुन वेडिङ र द नेमसेक जस्ता फिल्मबाट चर्चित बनेकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।