नेपालगन्ज– बाँकेका होटल व्यवसायीहरुले ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई भेटेर नेपालगन्जसहित पश्चिम नेपालको पर्यटन व्यवसाय प्रवर्द्धनका लागि विशेष कार्यक्रमको घोषणा गर्न आग्रह गरेका छन्।
होटेल अर्गनाइजेसन नेपाल हरिजनल च्याप्टर नेपालगन्जका अध्यक्ष अतिस शम्शेर राणा लगायतका व्यवसायीहरुले मुख्यमन्त्री पोखरेललाई ८ बुँदे ज्ञापनपत्र बुझाउँदै यस्तो आग्रह गरेका हुन्।
प्रादेशिक विभाजनका कारण मध्य तथा सुदूरपश्चिमको प्रमुख औद्योगिक तथा व्यापारिक शहर नेपालगन्जको व्यापार–व्यवसायको अवस्था दिनानुदिन खस्किँदै गएको भन्दै मुख्यमन्त्रीको ध्यानकर्षण गराएको सिद्धार्थ बिजनेस ग्रुप अफ अस्पिटालिटीका क्षेत्रीय प्रबन्धक केशव न्यौपानेले बताए।
५ नम्बर प्रदेशको प्रादेशिक राजधानी बुटवल तथा ६ नम्बर प्रदेशको प्रादेशिक राजधानी सुर्खेतको वीरेन्द्रनगर कायम भएसँगै नेपालगन्जमा हुँदै आएका व्यापारिक तथा संघसंस्थाको गतिविधि घटदै गएकाले होटलहरुको अवस्था धरासायी हुने जोखिम बढेको गुनासो उनीहरुले मुख्यमन्त्रीसामु पोखेका छन्।
व्यवसायीले उठाएका मागप्रति आफ्नो ध्यानकर्षण भएको जनाउँदै मुख्यमन्त्री पोखरलले पश्चिम नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
व्यवसायीले मुख्यमन्त्रीसमक्ष पेश गरेका मागहरुः
१) नेपालमै सबैभन्दा कम लागतमा क्षेत्रीय विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलमा स्तरोन्नति गर्न सकिने एकमात्र नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउने निर्णय गरियोस्।
२) बाँकेको नौबस्ता अवस्थित ११ सय बिघा सरकारी खाली जमिनलाई औद्योगिक क्षेत्रको रुपमा विकास गरियोस्।
३) २०७५ देखि २०८० सम्म ५ वर्षको समयलाई प्रदेश नं. ५ लाई औद्योगिक लगानी वर्ष घोषणा गरियोस्। उद्योगलाई सहुलियत हुने किसिमका आवश्यक नीति–नियम निर्माण गरियोस्।
४) कैलाश मानसरोवर र रारा तालको 'गेटवे'का रुपमा नेपालगन्ज विकसित हुँदै गएकाले कैलाश मानसरोवर जाने पर्यटकहरुको सुविधाका लागि प्रदेश सरकारबाट विशेष ध्यान दिइयोस्।
५) नेपाल सरकारबाट बोर्डरदेखि करिब ५ किलोमिटरसम्म क्यासिनो सञ्चालन नगर्ने निर्णयलाई पुनः संशोधनका लागि विशेष ध्यान दिइयोस्।
६) मानसरोवर जाने तीर्थयात्रीहरुलाई बोर्डरमा हुने झन्झटलाई सहज पार्न पहल गरियोस्।
७) निर्माण कार्य सुरु भए पनि लामो समयदेखि अलपत्र अवस्थामा रहेको एकीकृत भन्सार चेकपोष्ट (आइसिपी) निर्माणको कामलाई द्रुत गतिमा अगाडि बढाई सुख्खा बन्दरगाह निर्माणको व्यवस्था मिलाइयोस्।
८) भारतले सीमाक्षेत्र रुपैडियादेखि लखनउसम्मको सडक चार लेनमा स्तरोन्नति गरिसकेको, भारतका ठूला सहरसग सम्पर्कका लागि नेपालगन्जको सीमासम्म ब्रोडगेज रेलमार्ग बिस्तार भइसकेका कारण भारतको विशाखापट्टनम बन्दरगाहबाट पश्चिम नेपालका लागि आयात हुने सामग्रीहरु सीधै नेपालगन्ज नाकामा ल्याउनका लागि आवश्यक व्यवस्था मिलाइयोस्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।