काठमाडौं- पछिल्लो १० वर्षमा १ खर्ब ५१ अर्ब रूपैयाँको चामल आयात भएको छ। नेपालले १० वर्ष अवधिमा संसारका २० भन्दा धेरै देशबाट विभिन्न किसिमका चामल आयात गर्ने गरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ।
पछिल्लो १० वर्षको तथ्यांकअनुसार आर्थिक वर्ष २०७६/०७७ र आर्थिक वर्ष २०७३/०७४ मा मात्रै चामलको आयातमा केही गिरावट देखिएको छ। त्यसबाहेक प्रत्येक वर्ष चामल आयातको परिमाण बढ्दै गएको छ।
नेपालमा अमेरिकाबाट पनि ठूलो परिमाणमा चामल आयात भइरहेको तथ्यांकमा देखिएको छ। त्यसैगरी थाइल्याण्ड, स्पेन र चीनबाट पनि चामल भित्रिएको छ। मसिनो र बास्नादार चामल नेपालमा महँगो मूल्यमा आयात भइरहेको छ। मिठो र मसिनो चामलको भात खाने बानी र भातै नभइ नहुने संस्कृतिका कारण चामल आयात बढेको कृषि विकास मन्त्रालयका अधिकारीहरूको भनाइ छ।
केमा खपत हुन्छ आयातित चामल?
विदेशबाट आउने चामल केमा, कति खपत हुन्छ भन्ने यकिन विवरण अहिलेसम्म सरकारी निकायसँग छैन। तर आयातित चामल खान र औद्योगिक उत्पादन निर्माणमा प्रयोग हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले बताए।
रकम रू अर्बमा। स्रोत: भन्सार विभाग'चामल कहाँ प्रयोग हुन्छ भन्ने तथ्यांक त छैन तर हामीले के भन्न सक्छौँ भने खानामा प्रयोग हुनुका साथै विभिन्न रक्सी उद्योग र अन्य तयारी खाद्य वस्तुको उत्पादनमा चामल खपत हुन्छ,' सचिव अर्यालले भने। नेपालका रक्सी उद्योगले आयातित चामलको प्रयोग गर्दै आइरहेका छन्।
रक्सी उद्योगका लागि आवश्यक अन्नमध्येको एउटा चामल पनि भएकाले ठूलो परिमाणको चामल रक्सी बनाउन खपत हुन्छ। अझ कतिपय मदिरा उत्पादनका लागि शतप्रतिशत सग्लो (कनिका नभएको) चामल चाहिने भएकाले पनि व्यवसायीहरूले नेपाली मिलबाट भन्दा विदेशबाट चामल खरिद गर्ने गरेका छन्।
आयात निरुत्साहित गर्न कर बढाइयो
कृषि वस्तुको आयात निरुत्साहित गर्न सरकारले अग्रिम आयकर तिर्नुपर्ने व्यवस्था गरेको छ। अघिल्लो आर्थिक वर्षबाट भन्सार विन्दूमै २.५ प्रतिशत अग्रिम आयकर तिरेर मात्रै कृषि उपज आयात गर्न पाउने व्यवस्था गरिएको हो।
त्यसका अतिरिक्त भारतबाट आयात हुने चामलमा ९ प्रतिशत र अन्य देशबाट आयात हुने चामलमा १० प्रतिशत कर लाग्छ। सरकारले कृषि सुधार शुल्कका नाममा यो कर उठाउँछ। भारतीय पक्षले नेपालसँगको भन्सारसम्बन्धी छलफलमा कृषि सुधार शुल्क हटाउन दबाब दिने गरेको भए पनि नेपालले यसलाई कायमै राखेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।