एजेन्सी–भारतको बिहारमा विधानसभा चुनावअन्तर्गत मंगलबार दोस्रो चरणको मतदान भइरहेको छ। मंगलबार १७ जिल्लाका बासिन्दाले ९४ सिटका लागि मतदान गर्दै छन् । बिहान सात बजे सुरु भएको मतदान बेलुका ६ बजेसम्म जारी रहने छ।
बिहार विधानसभाका २४३ सिटमध्ये आधाभन्दा धेरैमा मंगलबार मतदान सकिने छ । यसअघि अक्टोबर २८ मा भएको पहिलो चरणमा ७१ सिटका लागि मतदान भइसकेको छ।
दोस्रो चरणको मतदानमा ९४ सिटका लागि १४ सय ६३ उम्मेदवार रहेका छन्। सन् २०१५ को चुनावमा यी ९४ सिटमा आरजेडी सबैभन्दा ठूलो पार्टी बनेको थियो । यी सिटमा आरजेडीले ४५.३ प्रतिशत मत प्राप्त गरेको थियो।
बिहारको यो क्षेत्र पिछडिएको इलाका हो। पाँच वर्ष पहिलेको चुनावमा ९४ मध्ये आरजेडीले ३३, जेडियूले ३०, भाजपाले २०, कांग्रेसले सात, एलजेपीले दुई तथा अन्यले दुई सिटमा जित हासिल गरेका थिए।
दोस्रो चरणमा दुई करोड ८६ करोडले मतदान गर्ने छन् । बिहारबाहेक अरु १० राज्यमा कोरोना भाइरसको महामारीका बीच ५४ सिटमा उपचुनावका लागि मतदान हुँदैछ।
बिहारमा नीतिश कुमार चौथोपटक मुख्यमन्त्री बन्ने प्रयासमा छन् । उनलाई लालुप्रसाद यादवको अनुपस्थितिमा उनका कान्छा छोरा तेजस्वी यादवले चुनौती दिँदैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।