एजेन्सी–कोरोनाविरुद्धको खोप परीक्षण गर्ने क्रममा ब्राजिलमा एक जनाको मृत्यु भएको छ। एस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयद्वारा विकसित गरिएको खोप परीक्षणमा सामेल एक सहभागीको मृत्यु भएको हो।
तर परीक्षण भने जारी रहने ब्राजिलको नेशनल हेल्थ सर्भिलेन्स एजेन्सी (एनभिसा) ले जनाएको छ। यद्यपि एनभिसाले खोप परीक्षणका क्रममा भएको मृत्युका बारेमा थप जानकारी सार्वजनिक गरेको छैन।
साओ पाओलो विश्वविद्यालयले ब्राजिलमा तेस्रो चरणको कोरोना खोप परीक्षण गरिरहेको छ। विश्वविद्यालयका अनुसार मृत्यु हुने व्यक्ति ब्राजिलकै नागरिक हुन्। तर ती व्यक्ति कहाँका हुन् भन्नेबारे केही जानकारी दिइएको छैन। खोप स्वयंसेवकको मृत्युको समाचार सार्वजनिक हुनेबित्तिकै एस्ट्रोजेनेकाको शेयरमा १.७ प्रतिशतले गिरावट आएको छ।
ब्राजिलमा कोरोनाका कारण हालसम्म १ लाख ५४ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ। ब्राजिल अमेरिका र भारतपछिको सबैभन्दा बढी प्रभावित मुलुक हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।