एजेन्सी–अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभले विवादास्पद क्षेत्रबाट अर्मेनियाका सैनिक पछि नहटेसम्म आफ्नो लडाइँ जारी रहने बताएका छन्। उक्त क्षेत्रमा चौथो दिन पनि दुई देशबीच आक्रमण जारी रहेका बेला अजरबैजानको यस्तो भनाइ आएको हो।
‘हाम्रो एकमात्र शर्त हो अर्मेनियाका सैनिकले विनाशर्त र पूर्ण रुपमा हाम्रो क्षेत्र छाड्नुपर्छ,’ उनले भने। गत आइतबार दुवै देशबीच सुरु भएको आक्रमणमा सैनिक र सर्वसाधारण गरी दर्जनौंको मृत्यु भएको बताइएको छ।
विवादास्पद नागोर्नो काराबाख क्षेत्रमा केही वर्षयता भएका लडाइँमा १ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ। उक्त क्षेत्र औपचारिक रुपमा अजरबैजानको भए पनि अर्मेनियालीहरुको बसोबास छ। पूर्व सोभियत संघको हिस्सा यी दुवै मुलुकबीच उक्त भूभागलाई लिएर सन् १९८८ देखि १९९४ को बीचमा कैयौंपटक लडाइँ भइसकेको छ।
यसैबीच, टर्कीले अजरबैजानलाई पूर्ण रुपमा सहयोग गर्न तयार रहेको बताएको छ। यहीबीचमा अर्मेनियाको रक्षा मन्त्रालयले टर्कीले आफ्नो जेट खसालेको भन्दै तस्बिर सार्वजनिक गरेको छ। तर टर्कीले अर्मेनियाको ‘सस्तो प्रचारबाजी’ भन्दै यो आरोपलाई अस्वीकार गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।