काठमाडौं- अनसनरत डा गोविन्द केसीको पक्षमा काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ। कतिपय प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको भए पनि उपस्थित अन्यले डा केसीको पक्षमा नारा लगाएका छन्।
प्रदर्शनकारीले 'डा गोविन्द केसीको माग पूरा गर', 'डा गोविन्द केसीको जीवनरक्षा गर', 'लुटतन्त्र मुर्दावाद', 'हामी गोविन्द केसी, 'तानाशाहीतन्त्र मुर्दावाद', 'डा केसीको अनसन, माफियालाई टेन्सन'लगायतका नारा लगाउनका साथै प्लेकार्ड पनि बोकेका थिए।
प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिएपनि उनीहरूले डा केसीका पक्षमा र सरकारका विरुद्धमा नाराबाजी चर्काइरहेका थिए।
विभिन्न ६ वटा माग राखेर डा केसीले गत भदौ २९ गतेदेखि जुम्लाबाट अनसन सुरु गरेका थिए। उनी अहिले काठमाडौं आएर अनसनलाई निरन्तरता दिइरहेका छन्। तर सरकारले उनीसँग वार्ताको कुनै पहल गरेको छैन।
यो डा केसीको १९औं अनसन हो। शनिबार उनको अनसनको १३औं दिन बितिसकेको छ। उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।