ललितपुर– वर्षा र सहकालका देवताका रुपमा प्रख्यात रातो मच्छिन्द्रनाथको रथ आज महिलाले मात्रै तानेका छन्। ललितपुरको लगनखेलबाट इटिटाेलसम्म महिलाले मात्रै रथ तानेका हुन्।
अब साइत हेरेर रथलाई जावलाखेलतर्फ लगिनेछ। यसअघि हिजो साँझको साइतमा लगनखेलमा रथको टुप्पोबाट नरिवल खसालिएको थियो। नरिवल खसालिएको भोलिपल्ट महिलाले रथ तान्ने प्रचलन छ।
मच्छिन्द्रनाथलाई पाटन परिक्रमा गराउने क्रममा इटिटाेलमा पुग्दा हराएको र एक जना महिलासँग रहेको थाहा पाएपछि उनलाई पूजा गरी फर्काएको स्मरणमा एक दिन महिलाले नै रथलाई तान्ने परम्परा बसेको हो।
बैसाख शुक्ल प्रतिपदामा पुल्चोकबाट सुरू भएर असार शुक्ल चाैँथीमा जावलाखेलमा भोटो देखाएपछि रातो मच्छिन्द्रनाथको रथयात्रा सकिन्छ। झण्डै दुई महिनासम्म चल्ने सो रथयात्रालाई नेपालकै सबैभन्दा लामो रथयात्राको रुपमा लिइन्छ।

जनश्रुतिअनुसार लिच्छविकालमा लामो समयसम्म वर्षा नभई अनिकाल फैलियो। गुरु गोरक्षनाथले नवनागलाई आसन बनाई नाग समाधिमा बसेकाले पानी नपरेको कुरा तान्त्रिक तथा गुरु बन्धुदत्तले राजा नरेन्द्रदेवलाई सुनाए। यसलाई समाधान गर्न रातो मच्छिन्द्रनाथ उपत्यकामा ल्याउनुपर्ने कुरा उठ्यो। त्यसपछि राजा, बन्धुदत्त आचार्य र रथचक्र (ललित ज्यापु)ले धार्मिक विधि र विविध कठिन परिस्थितिको सामना गरेर परिश्रमका साथ रातो मच्छिन्द्रनाथ उपत्यकामा भित्र्याए।
ऐतिहासिक भनाईअनुसार इस्वी संवत् ६५९ मा मच्छिन्द्रनाथलाई उपत्यकामा ल्याइएको हो। जब रातो मच्छिन्द्रनाथ बुंगमती ल्याइयो, तब गुरु गोरक्षनाथ उनको आदर स्वागतका लागि उठेपछि नागहरूले मुक्ति पाए भन्ने किंबदन्ती छ। त्यसपछि घनघोर वर्षा भयो। रातो मच्छिन्द्रनाथबाट यस्तो लोकहित र लोककल्याणकारी कार्य सम्पन्न भएकोले रातो मच्छिन्द्रनाथलाई लोकेश्वर भनेर पुकारिनुको साथै सोहि समयदेखि नै प्रत्येक वर्ष रातो मच्छिन्द्रनाथ रथयात्रा निकाल्न थालिएको हो।









नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।