काठमाडौं– लोकगीत लेखक तथा संगीतकार डा शिव सुवेदीको नयाँ गीत ‘बाँचेको धन्न’ सार्वजनिक भएको छ। हेर्ने गीतहरुले बजार कब्जा गरिरहेका बेला उनले सुन्ने गीत सार्वजनिक गरेका हुन्।
लोक संगीतमा चर्चित डा सुवेदी केही वर्षपछि गीत संगीत क्षेत्रमा फर्किएका हुन्। भूकम्पशास्त्रमा पिएचडी गर्न स्वीट्जरल्यान्ड पुगेका उनले अध्ययन सकिएसँगै संगीतलाई निरन्तरता दिएको हुन्। केही समय अझै त्यहीँ रहेर अध्ययन र अनुसन्धानलाई निरन्तरता दिने बताउने उनी संगीतलाई पनि सँगै अघि बढाउने बताउँछन्।
अध्ययनका क्रममा गीत लेख्ने र संगीत सिर्जना गर्ने गरेपनि रेकर्ड गरेर सार्वजनिक गर्ने फुर्सद बल्ल मिलेको बताउँछन्।
केही हप्ताअघि उनको ‘अत्ति भयो अत्ति’ गीत सार्वजनिक भएको थियो। डा सुवेदीको ‘बाँचेको धन्न’मा विक्रम परियार र समिक्षा अधिकारीले स्वर भरेका छन्।
विनोद बाजुरालीले संगीत संयोजन गरेको गीत स्टुडियो मालश्रीमा रेकर्ड भएको हो। गीतको म्युजिक भिडियोको निर्देशन देवन्द्र बब्लुले गरेका हुन्। अनिलकृष्ण श्रेष्ठको सिनेमाटोग्राफी रहेको गीतमा अभिनय, गौरव पहारी, भद्र कुँवर र कविर गैरेले गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।