रोल्पा–कोभिड–१९ को त्राससँगै लामो समयको लकडाउनका कारण रोल्पामा घरेलु हिंसाका उजुरी ह्वात्तै घटेका छन्। जिल्ला प्रहरी कार्यालय रोल्पाको महिला तथा वालवालिका सेलमा यस अवधिमा घरेलु हिंसाको उजुरी दिनेको संख्या घटेको हो।
लकडाउनअघि ठूलो संख्यामा यस्ता उजुरी आउने गरेकोमा लकडाउन पछि भने यो संख्या घटेको हो। कोरोनाको संन्त्रास फैलनुअघि अघिल्लो वर्षको साउनदेखि फागुन सम्म ६९ वटा घरेलु हिंसाका उजुरी परेकोमा लकडाउनपछि चैतदेखि असारसम्म १६ वटामात्रै उजुरी परेको जिल्ला प्रहरी कार्यालय रोल्पा महिला तथा बालबालिका ज्येष्ठ सेलले जानकारी दिएको छ।
अघिल्लो वर्षको साउनमा ११, भदौमा ९, असोजमा ९, कार्तिकमा ८, मंसिरमा ११, पुसमा ७, माघमा ६ र फागुनमा ९ वटा घरेलु हिंसाका उजुरी दर्ता भएका थिए।
गत चैत ११ देखि भएको लकडाउनपछि भने यो क्रम ह्वात्तै घटेको थियो। लकडाउनको पहिलो महिना चैतमा ५ जना घरेलु हिंसाका पीडितले उजुरी दर्ता गरेका थिए। यसैगरी वैशाख र जेठ महिनामा २÷२ वटा र असारमा ७ वटा उजुरी दर्ता भएका थिए।
चैतको करिब मध्यबाट लकडाउन भएकाले उक्त महिना उजुरीको संख्या केही बढी देखिए पनि वैशाख र जेठमा उजुरी निकै कम रहेको देखिएको छ । कोरोनाको संन्त्रास सामान्य उन्मुख भएको परिवेशले असारमा घरेलु हिंसाको उजुरी बढेको देखिएको छ।
चालु आर्थिक वर्षको पहिलो महिनामा समेत उजुरीको अवस्था सामान्य नै रहेको देखिएको छ। साउनमा ७ वटा उजुरी परेकोमा भदौ १५ गतेसम्म २ वटामात्रै उजुरी दर्ता भएका छन्।
यसरी दर्ता भएका अधिकांश उजुरी जिल्ला सदरमुकाम नजिकको मात्र रहेको वताईन्छ । ‘घरेलु हिंसाको मार खप्न नसकेका सदरमुकाम नजिकका पीडितहरुले मात्रै न्यायका लागि उजुरी दिएको देखियो,’ महिला मानव अधिकार रक्षक संजाल रोल्पाका अध्यक्ष तीर्था आचार्यले भनिन्, ‘लकडाउनले महिलाहरुको स्वतन्त्रतापूर्वक बाँच्न पाउने र कानुनी उपचार पाउने अधिकार हनन भयो।’
कोरोनाको त्रास देखाएर पीडकहरुले महिलाहरुलाई हिंसा गरेको आफूलाई जानकारी आएको उनले बताइन्। ‘कोरोनाका कारण भएको लकडाउन अवधिमा महिलाहरु बहुआयामिक हिंसामा परेका छन्,’ उनले भनिन्, ‘विपदको समयमा हिंसामा परेका महिलाहरुलाई कसरी न्याय दिलाउन सकिन्छ भन्ने विषयमा सम्बन्धित निकाय समयमै चनाखो भएर मानवअधिकारको सुनिश्चिततामा ध्यान दिनु पर्छ।’
लकडाउन अवधिमा महिला तथा बालबालिका सेलमा उजुरी कम पर्नुलाई घरेलु ंिहंसा घटेको रुपमा बुझ्न नहुने पत्रकार उमा केसीको भनाइ छ। ‘सामान्य अवस्थामा भन्दा लकडाउनका बेला महिलाहरु थप हिंसामा परे पनि न्यायको पहुँचमा आउन नसक्दा उजुरी कम परेको हो,’ केसीले भनिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।