काठमाडौं–नेपाल वायुसेवा निगमले साउन १५ गतेबाट उडान बन्द गरेको ६ वटा चिनियाँ जहाजको मूल्यांकन ३ अर्ब ८० करोड ९८ लाख रुपैयाँ रहेको छ।
निगमले पहिलो पटक गरेको सम्पत्ति तथा दायित्व मूल्यांकनमा ४ वटा चिनियाँ जहाजको मूल्य १ अर्ब ५३ करोड ९८ लाख रहेको छ। निगमको यो मूल्यांकन २०७६ असार मसान्तसम्मको हो।
यसैगरी निगमले २ वटा एमए-६० को मूल्यांकन २ अर्ब २७ करोड रुपैयाँ गरेको छ।
निगमले आन्तरिक उडानमा प्रयोग गरेको ६ वटा चिनियाँ जहाज ल्याउँदा नेपालले अनुदान र सफ्ट लोनमा गरी ६ अर्ब ६७ करोड १० लाख रुपैयाँ खर्च गरेको थियो। कूल रकममध्ये दुई अर्ब ९४ करोड ३० लाख अनुदान सहयोग थियो भने ३ अर्ब ७२ करोड वार्षिक १ दशमलव ५ प्रतिशत दरको ऋण थियो।
अनुदानमा एउटा एमए-६० र एउटा वाई-१२ जहाज थियो। अन्य ४ वटा (एउटा एमए-६० र ३ वटा वाई-१२) जहाज भने नेपालले सफ्ट लोनमा चीनसँग २०७० मंसिरमा दुई पक्षीय सम्झौता गरेर खरिद गरेको थियो।
सम्झौता अनुसार निगमले पहिलो पटक २०७१ बैशाखमा एउटा अनुदानको एमए-६० (५६ सिट) जहाज र सोही वर्षको कात्तिकमा अनुदानबापतकै एउटा वाई–१२ (१८ सिट क्षमताको) जहाज चीनबाट ल्याएको थियो। त्यसपछि बाँकी जहाज भने क्रमशः २०७३ मा एउटा एमए-६० र एउटा वाई-१२ ल्याइएको थियो। यसैगरी, निगमले २०७४ फागुनमा दुई सरकारबीचको सम्झौताअनुसार बाँकी रहेका दुईवटा वाई–१२ जहाज नेपाल ल्याएको थियो। तर, जहाज एकदिन पनि पूर्ण क्षमतामा सञ्चालन हुन सकेनन्। कहिले बिग्रिएर, त कहिले जनशक्तिको अभावमा निगमले ६ वटा जहाज एकै पटकमा एकै दिन पनि उडान गर्नै सकेन।
जहाज सञ्चालनबाट मात्रै निगमले आर्थिक वर्ष २०७६/०७७सम्ममा २ अर्ब ३३ करोड रुपैयाँभन्दा बढी घाटा बेहोरेको थियो।
चिनियाँ जहाज उडानमा सहजता नभएको, निरन्तर घाटामा गएको र मर्मत तथा जनशक्तिसम्म पाउन नसेको १९ वटा कारणसहित निगमले साउन १५ गतेबाट उडान बन्द गरेको थियो। निगमको असार १६ गते बसेको सञ्चालक समितिको बैठकले उडान बन्द गर्दै जहाज व्यवस्थापनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयललाई जानकारी गराएको थियो। मन्त्रालयले पनि जहाजको व्यवस्थापनको लागि अर्थसँग राय मागिसकेको छ।
निगमसँग रहेका ६ वटा चिनियाँ जहाजमध्ये एउटा एमए–६० र एउटा वाई-१२ जहाज उडानयोग्य भए पनि अन्य ३ वटा जहाज ग्राउन्डेड भएर बसेका छन् भने एउटा नेपालगञ्ज विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएपछि काम नलाग्ने भएर बसेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।