काठमाडौं-लकडाउनका बेला निर्माण काम भइरहेको नागढुंगा-नौबिसे सुरुङ मार्गको काम निषेधाज्ञामा रोकिएको छ। नेपालको पहिलो सडक सुरुङ जापान सरकारको ऋण सहयोगमा निर्माण थालिएको हो।
उक्त सुरुङमार्गको निर्माण जापानी कम्पनी हाज्मा आन्दोलनले गरिरहेको छ। आयोजनाले चैत ११ मा लकडाउन सुरु भएपछि निर्माण कम्पनी, प्रशासनलगायत सरोकारवालासँग छलफल गरेर निर्माणको काम अघि बढाएको थियो। मुआब्जाको विषयलाई लिएर विभिन्न समयमा अवरुद्ध निर्माणकाे काम लकडाउन र निषेधाज्ञाका कारण हुन नसकेको हो।
कोरोना भाइरस नियन्त्रणका लागि सरकारले पछिल्लो पटक गरेको निषेधाज्ञाका कारण सुरुङमार्ग निर्माणको काम ठप्प भएको सडक विभागका महानिर्देशक केशवकुमार शर्माले बताए। ‘सुरुङमार्गको दुवैतर्फ काम भइरहेको थियो। तर पछिल्लो निषेधाज्ञाले अघिल्लो साताको मंगलबारदेखि काम ठप्प भएको छ,’ उनले भने, ‘दुवैतर्फ गरेर डेढ-दुई सय कामदारले काम गरिहेका थिए। अब काम पुनः सुरु हुन केही समय लाग्न सक्छ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ गते शिलान्यास गरेको सुरुङमार्ग ४२ महिनाभित्र निर्माण सक्ने गरी सम्झौता भएको थियो। योसँगै अन्य पूर्वाधार विकासका कामसमेत अवरुद्ध भएका छन्। उपत्यकाका तीनै जिल्लासहित देशभर ४२ भन्दा बढी जिल्लाहरुमा आंशिक तथा पूर्ण रुपमा निषेधाज्ञा जारी गरिएकाले विकास निर्माणको काम रोकिएको हो।
काठमाडौं उपत्यकाको हकमा भदौ ३ गतेदेखि र अन्य जिल्लाहरुमा पनि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्दै अत्यावश्यक बाहेकका सबै सेवा रोक्ने निर्णय गरेकाले निर्माणका काम रोकिएका हुन्। लकडाउन भएको केही समयपछि सुरु भएको निर्माणको काम निषेधाज्ञ जारी भएसँगै ठप्प प्रायः रहेकाे विभागले जनाएको छ।
'वर्षायाममा सडक निर्माणका प्राय सबै काम गर्न मिल्दैन। जसका कारण धेरै काम रोकिन्थ्यो नै तर निषेधाज्ञाका कारण हुन सक्ने केही काम पनि रोकिए, ' विभागका महानिर्देशक शर्माले भने।
काम गर्नेदेखि कर्मचारीसम्म कार्यालयमा आउन नसक्ने अवस्था आएकाले काम स्वाभाविक रुपमा रोकिएको र संक्रमण जोखिम बढेकाले काम पुनः सुरु हुन समय लाग्ने उनको भनाइ छ।
विभागले लकडाउनको समयमा एक तिहाइभन्दा बढी आयोजनाको काम जारी राखेको थियो। संघीय सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको र त्यसको केही समयलगत्तै विकास निर्माणका कामहरु सुरु हुन थालेका थिए। स्वास्थ्यका मापदण्ड पूरा गरेर विकासका काम जारी राख्न दिनेगरि भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले सिसिएमसीबाट स्वीकृत गराएर काम गर्ने अनमति दिएको थियो।
लकडाउनकैबीच उपत्यकाका धेरै सडकहरु चिल्ला भएका थिए भने लेन बनाउने, पेन्टिङ, जेब्रा क्रसिङ कोर्ने कामसमेत भएको थियो। संक्रमण समुदायस्तरमै फैलिएकाले अवस्था विगतको भन्दा जटिल बनेको सबैको बुझाइ छ।
काम जारी भएका र काम सुरु हुने क्रममा रहेका आयोजनाहरु समेत प्रभावित भएका छन्। यसले तोकिएको समयमै आयोजना सम्पन्न हुने सम्भावना निक्कै कम भएको छ। यसले आयोजनाको लागतसमेत बढाउने इन्जिनियरहरुको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।