काठमाडौं- सरकारले गत आर्थिक वर्ष २०७६/७७ का लागि वार्षिक मुद्रास्फीति ६ प्रतिशतभित्र नियन्त्रणमा राख्ने लक्ष्य लिएकोमा बढेर ६ दशमलव १५ प्रतिशत देखिएको छ। सरकारले मुल्यवृद्धि नियन्त्रण कायम राख्न नसक्दा लक्ष्यभन्दा बढी महंगी देखिएको हो।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/७७ को वार्षिक रिपोर्टमा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ६ दशमलव १५ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो मुद्रास्फीति ४ दशमलव ६४ प्रतिशत रहेको थियो। राष्ट्र बैंकका अनुसार गत असारसम्ममा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४ दशमलव ७८ प्रतिशत रहेको छ।
२०७६ असारमा यस्तो मुद्रास्फीति ६ दशमलव ०२ प्रतिशत रहेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा खाद्य वस्तुको महंगी दोब्बर देखिएको छ। गत आर्थिक वर्षमा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत मुद्रास्फीति ८ दशमल १६ प्रतिशत रहेको छ।
अघिल्लो आर्थिक वर्षमा उक्त समूहको मुद्रास्फीति ३ दशमलव ०९ प्रतिशत रहेको थियो। त्यस्तै गैर–खाद्य तथा सेवा समूहको वार्षिक औसत मुद्रास्फीति ४ दशमलव ६१ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्ष उक्त समूहको मुद्रास्फीति ५ दशमलव ८६ प्रतिशत रहेको थियो।
आर्थिक वर्ष २०७६/७७ मा उपभोक्ता मुद्रास्फीति काठमाडौं उपत्यकामा ६ दशमलव ९६ प्रतिशत, तराईमा ६ दशमलव २९ प्रतिशत, पहाडमा ५ दशमलव १० प्रतिशत र हिमालमा ४ दशमलव ९१ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति क्रमशः ४ दशमलव ८६ प्रतिशत, ४ दशमलव २६ प्रतिशत, ५ प्रतिशत र ४ दशमलव ९१ प्रतिशत रहेको थियो।
नेपालसँग छिमेकी मुलुक भारतको मुद्रास्फीतिको तुलना गर्दा २०७७ असारसम्ममा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति नेपालमा ४ दशमलव ७८ प्रतिशत र सन् २०२० को जुलाईमा भारतमा ६ दशमव ९३ प्रतिशत रहेको छ।
गत वर्षको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ५ दशमलव ६० प्रतिशत रहेको छ। २०७६ असारमा यस्तो मुद्रास्फीति ५ दशमलव ४१ प्रतिशत रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।