काठमाडौं-गत आर्थिक वर्षमा राष्ट्रिय गौरवका १८ आयोजनामा ४७ अर्ब १४ करोड रूपैयाँ बजेट खर्च भएको छ। वार्षिक विनियोजन ७५ अर्ब ८३ करोड रूपैयाँमध्ये ६२.१७ प्रतिशत खर्च भएको हो।
राष्ट्रिय गौरवका आयोजनामध्ये माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको खर्च शतप्रतिशत छ। यो आयोजनाका लागि गत वर्ष १ अर्ब रूपैयाँ विनियोजन गरिएकोमा सम्पूर्ण रकम खर्च भएको छ। त्यसबाहेक अरु कुनै पनि आयोजनाको खर्च प्रगति सन्तोषजनक छैन।
बुढीगण्डकी जलविद्युत आयोजनाको भौतिक काम अघि नबढेकाले मुआब्जा वितरणका लागि दिइएको रकम ९९ प्रतिशत खर्च भएको छ। आयोजनाका लागि ५ अर्ब ८७ करोड रूपैयाँ विनियोजन गरिएकोमा ८ अर्ब ८२ करोड रूपैयाँ खर्च भएको छ। निर्माण मोडालिटी टुंगो नलागेकाले यो आयोजनाको काम अघि बढ्न भने सकेको छैन। निर्माण मोडालिटीको टुंगो नलागेको अर्को आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा जम्मा ५ करोड रूपैयाँ खर्च भएको छ।
सरकारले उच्च प्राथमिकता दिइ अघि बढाइएका यी आयोजनाको ठेक्का व्यवस्थापन र निर्माणका लागि खास समस्या नभए पनि बजेट भने प्रभावकारीरूपमा खर्च हुन सकेको छैन। 'पछिल्लो समयमा कोभिड-१९ का कारण काम गर्न सकिएन भनियो तर बहुवर्षे ठेक्का लागेका, स्रोतको कुनै अभाव नभएका राष्ट्रिय गौरवका आयोजनामा विगतमा पनि यस्तै खर्च हुने गरेको थियो,' अर्थ मन्त्रालय स्रोतले भन्यो, 'यसपटक नयाँ बहाना थपिएको हो, कोरोना नभएको भए पनि ७५ प्रतिशतभन्दा धेरै खर्च हुने थिएन।'
मेलम्ची सबैभन्दा कमजोर
भौतिक निर्माणमा अघि नबढेका बुढीगण्डकी जलविद्युत आयोजना र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबाहेक सबैभन्दा कमजोर वित्तीय खर्चको अवस्था मेलम्ची खानेपानी आयोजनाको छ। आयोजनाका लागि ६ अर्ब ८३ करोड रूपैयाँ बजेट विनियोजन गरिएकोमा १ अर्ब ८२ करोड अर्थात् २६.७२ प्रतिशत बजेट खर्च भएको छ। कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि लकडाउन गरिएको बेलासमेत काम भइरहेको भनिएको आयोजनाकै अवस्था सबैभन्दा नाजुक देखिएको हो।
सबैभन्दा धेरै बजेट छुट्याइएको हुलाकी राजमार्गमा ५८.१७ प्रतिशत खर्च भएको छ। आयोजनाका पुलहरू समेतका लागि १३ अर्ब ६३ करोड रूपैयाँ बजेट छुट्याइएकोमा ७ अर्ब ९३ करोड रूपैयाँ मात्रै खर्च भएको छ। दक्षिण एशिया पर्यटन पूर्वाधार विकास आयोजना (गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल)मा ४७.५२ प्रतिशत खर्च भएको छ। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा ५६.६९ प्रतिशत बजेट खर्च भएको छ।
नेपाली सेनाले निर्माणको जिम्मेवारी लिएको काठमाडौं-तराई फास्ट ट्रयाकमा ५० प्रतिशत पनि खर्च भएको छैन। यो आयोजनाले बीचमै बजेट सरेन्डरसमेत गरेको थियो। पुष्पलाल मध्यपहाडी लोकमार्गमा ६ अर्ब ३१ करोड रूपैयाँ खर्च भएको छ। आयोजनाका लागि विनयोजित ८ अर्ब ५४ करोड रूपैयाँमध्ये ७३.९५ प्रतिशतमात्रै खर्च भएको छ।
यसैगरी सिँचाइतर्फ पनि औसतमा ६० प्रतिशतको हाराहारीमा मात्रै खर्च भएको छ। बबई सिँचाइ आयोजना, भेरी बबई डाइभर्सन बहुद्देश्यीय आयोजना, सिक्टा सिँचाइ आयोजना र रानी जमरा कुलरिया सिँचाइ आयोजनाको वित्तीय प्रगति ६० प्रतिशत रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।