काठमाडौं- खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गत आर्थिक वर्ष २०७६/७७ मा खाद्य वस्तुका ३ हजार २ सय वटा नमुना संकलन गरेर अध्ययन गरेकोमा १ सय ५४ वटा मापदण्डविपरीत देखिएको र ५५ व्यवसायिक फर्मविरुद्ध मुद्दा दायर गरिएको जनाएको छ। विभागका अनुसार दूध तथा दुग्धजन्य वस्तुहरुमा सबैभन्दा बढी मापदण्ड उल्लंघन भएको देखिएको छ।
मापदण्डअनुसार नपाइएका नमूनाहरुमध्ये ४२ वटा दूध तथा दुग्धजन्य पदार्थ, २७ वटा दाना पदार्थ, २२ वटा खाद्यान्न तथा दलहन पदार्थ, १९ वटा प्रशोधित पिउने पानी, १६ वटा तेल तथा घ्यूजन्य, १२ वटा चिया, ४ वटा नून, ३ वटा फलफुल तथा सागपात पदार्थ, २ वटा मसला पदार्थ, २ वटा गुलियो पदार्थ र ५ वटा अन्य खाद्य पदार्थ रहेको विभागले जनाएको छ।
खाद्य ऐन तथा नियमअनुसार न्यूनस्तर तथा दूषित उत्पादन तथा बिक्री वितरण गरेको कसूरमा ५५ थान मुद्दा विभिन्न जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा दायर गरिएको पनि विभागले जनाएको छ। दायर गरिएका ५५ थान मुद्दामध्ये प्रशोधित पिउने पानीका १६ वटा, दूध तथा दुग्धजन्य खाद्य पदार्थका ११ वटा, खाद्य तेलका ८ वटा र बेकरी, मह, दालमोठ, तयारी चाउचाउ, मिठाई, खुर्सानीको धूलोजस्ता विभिन्न खाद्य पदार्थका रहेका थिए।
ती मुद्दाहरुमध्ये २६ वटा मुद्दाहरु न्यून गुणस्तरका, १६ वटा मुद्दाहरु दूषितका, १० वटा मुद्दाहरु लेवललगायतका विवरण नमिलेका तथा बाँकी ३ वटा मुद्दाहरु खाद्य ऐन नियम निर्देशिका उलंघनसम्बन्धी रहेको विभागले जानकारी दिएको छ।
गत आर्थिक वर्ष अवधिमा खाद्य र दाना उद्योग, होटल रेष्टुरेण्ट, राजमार्गका होटल गरी ४ हजार ४ सय ९८ पटक निरीक्षण अनुगमन गरिएको थियो।
विभाग तथा मातहतका कार्यालयबाट प्रशोधित पिउने पानीको गुणस्तर, खाने तेलको गुणस्तर, मासुजन्य खाद्य पदार्थको गुणस्तर, होटल रेष्टुरेण्ट, चामलको गुणस्तरलगायतका विभिन्न विषयका ४ सय ६१ उजुरी परेको विभागले जनाएको छ।
विभागबाट स्थलगत निरीक्षण अनुगमनमा खाद्य ऐन २०२३, खाद्य नियमावली २०२७ तथा निर्देशिका बमोजिम उत्पादन गरेको नपाइएका १ सय २५ वटा उद्योग एवं खाद्य व्यवसायहरुलाई उत्पादन रोक्का एवं सिलबन्दीका साथै नमूनाहरु संकलन गरी कारवाही अघि बढाइएको विभागको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।