काठमाडौं-नेपाल विद्युत प्राधिकरण आजबाट ३६औं वर्षमा प्रवेश गरेको छ। प्राधिकरणले गत आर्थिक वर्ष २०७६/७७ मा ११ अर्ब ५ करोड रुपैयाँ मुनाफा कमाएको छ। आर्थिक वर्ष २०७३/७४ देखि मुनाफा आर्जन गर्न सुरु गरेको प्राधिकरणले मुनाफामा क्रमशः वृद्धि गर्दै आर्थिक वर्ष २०७४/७५ मा २ अर्ब ८५ करोड, २०७५/७६ मा ९ अर्ब ८१ करोड र २०७६/७७ मा हाल सम्मकै उच्च मुनाफा अर्थात् ११ अर्ब ५ करोड रुपैयाँ आर्जन गरेको छ।
गत आर्थिक वर्षमा प्राधिकरणको सञ्चालन खर्च अघिल्लो आर्थिक वर्षको ५९ अर्ब २२ करोड रुपैयाँको तुलनामा १ दशमलव ९५ ले न्यून अर्थात् ५८ अर्ब ७ करोड रुपैयाँ रहेको छ। विद्युत खरिदबापत अघिल्लो अघिल्लो आर्थिक वर्षमा ३८ अर्ब ८९ करोड खर्च भएकोमा गत आर्थिक वर्षमा ३५ अर्ब १९ करोड खर्च भएको छ।
गत आर्थिक वर्षमा अन्य आय बाहेकको प्राधिकरणको आम्दानी ७३ अर्ब ७६ करोडमा सञ्चालन खर्च ५८ अर्ब ६ करोड कट्टा गर्दा सञ्चालन मुनाफा १५ अर्ब ६९ करोड रहेको छ। जुन अघिल्लो आर्थिक वर्ष २०७५/७६ को सञ्चालन मुनाफा १२ अर्ब ५ करोडको तुलनामा ३० दशमलब २१ प्रतिशतले बढी हो।
आर्थिक वर्ष २०७५/७६ मा प्रसारण प्रणाली चुहावटलाई १५ दशमलव ३२ प्रतिशतमा कायम राख्न सकिएकोमा कोभिड-१९ बाट सिर्जित प्रतिकूल परिस्थितिका कारण गत आर्थिक वर्षमा प्रणाली चुहावटलाई १५ दशमलव २७ प्रतिशतमा सीमित राखेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणको अघिल्लो आर्थिक वर्ष सम्मको ग्राहक संख्या ३९ लाख १० हजार रहेकोमा गत आर्थिक वर्षमा ७ दशमलव ८८ प्रतिशतले वृद्धि भई ४२ लाख १८ हजार पुगेको छ। जसमा सामुदायीक ग्रामीण विद्युतीकरणबाट विद्युत सेवा उपयोग गरिरहेका ग्रामीण भेगका करिब ५ लाख ७० हजार ग्राहक समावेश छैनन्।
गत आर्थिक वर्षभित्रमा ग्राहक संख्या ४४ लाख ७२ हजार पुर्याउने निर्धारित लक्ष्य कोभिड- १९ को प्रकोपका कारणले पुरा हुन नसकेको पनि प्राधिकरणको भनाइ छ।
ग्राहक संख्याको ९३ दशमलव २६ प्रतिशत अर्थात् ३९ लाख ३४ हजार गार्हस्थ वर्गका उपभोक्ता रहेका छन्। जसको कुल विद्युत बिक्री आम्दानीमा ३९ दशमलव ८४ प्रतिशत योगदान रहेको छ। कुल विद्युत बिक्रीबापतको आम्दानीमा ३७ दशमलव ५१ प्रतिशत योगदान औद्योगिक वर्गका ग्राहकको रहेको छ भने अन्य वर्गका ग्राहकको योगदान २२ दशमलव ६५ प्रतिशत रहेको छ। देशको कुल जनसङ्ख्याको करिब ८६ प्रतिशतमा विद्युत सेवाको पहुँच पुगेको प्राधिकरणको भनाइ छ।
नेपाल विद्युत प्राधिकरणका सबै उत्पादन केन्द्रहरूबाट आर्थिक वर्ष २०७५/७६ को २ अर्ब ५४ करोड ८० लाख युनिटको तुलनामा आर्थिक वर्ष २०७६/७७ मा १८ दशमलव ५७ प्रतिशतले वृद्धि भई ३ अर्ब २ करोड १० लाख युनिट विद्युत उत्पादन भएको छ। ६० मेगावाटको त्रिशुली ३ ए र १४ मेगावाटको कुलेखानी तेश्रो जलविद्युत आयोजनाबाट भएको विद्युत उत्पादनको समेत यसमा योगदान छ।
गत वर्ष प्राधिकरणले निजी विद्युत उत्पादनकर्ताहरूबाट २ अर्ब ९९ करोड १० लाख युनिट विद्युत खरिद गरेको छ। जुन अघिल्लो आर्थिक वर्ष २०७५/७६ को २ अर्ब १९ करोड युनिटको तुलनामा ३६ दशमलव ५७ प्रतिशतको वृद्धि हो।
भारतसँगकाे विद्युत आयात परिमाण अघिल्लो आर्थिक वर्षमा २ अर्ब ८१ करोड ३० लाख युनिट रहेकोमा गत आर्थिक वर्षमा ३८ दशमलव ५५ प्रतिशत ले कमि भई १ अर्ब ७२ करोड ९० लाख युनिटमा झरेको छ।
भारतबाट आयात गरिने विद्युतको परिमाण घट्न गए पनि प्रणालीमा उपलब्ध विद्युतको परिमाण अघिल्लो आर्थिक वर्षको ७ अर्ब ५५ करोड १० लाख युनिटभन्दा २ दशमलव ५१ प्रतिशतले बढी अर्थात् ७ अर्ब ७४ करोड १० लाख युनिट पुगेको छ।
प्रणालीमा उपलब्ध विद्युतमा प्राधिकरणको उत्पादन केन्द्रबाट उत्पादित, भारतबाट आयातित र निजी क्षेत्रका प्रबर्द्धकबाट उत्पादित विद्युतको हिस्सा क्रमशः ३९ दशमलव ०२ प्रतिशत, २२ दशमलव ३४ प्रतिशत र ३८ दशमलव ६४ प्रतिशत रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।