काठमाडौं- नेपाल विद्युत प्राधिकरण सञ्चित नाफामा गएको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा प्राधिकरणले विगतका सञ्चित नोक्सान पूर्ति गर्दै ४ अर्ब ८६ करोड रूपैयाँ सञ्चित नाफा गरेको छ।
प्राधिकरणले प्रकाशन गरेको विवरणअनुसार आर्थिक वर्ष २०७५/०७६ म्मको सञ्चित नोक्सानी १२ अर्ब २३ करोड रूपैयाँ रहेकोमा आर्थिक वर्ष २०७६/०७७ को अन्त्यमा आइपुग्दा विगत वर्षको आय ६ अर्ब ४ करोडसहित ४ अर्ब ८६ करोड रूपैयाँ सञ्चित नाफा भएको छ।
प्राधिकरणको सञ्चित नोक्सान २७ अर्ब रूपैयाँ पुगेपछि सरकारले आर्थिक वर्ष २०६७/०६८ मा त्यसलाई अपलेखन गरी शून्यमा झारिदिएको थियो। त्यसयता पनि प्राधिकरण निरन्तर सञ्चित नोक्सानीमा गइरहेको थियो। आर्थिक वर्ष २०७२/०७३ मा सञ्चित नोक्सान बढेर ३४ अर्ब ६१ करोड रूपैयाँ पुगेको थियो। प्राधिकरण आर्थिक वर्ष २०७३/०७४ बाट नाफामा जान थालेको हो।
अपलेखन गर्नु ५ वर्षअघिदेखि प्राधिकरण सञ्चित नोक्सानीमा थियो। सरकारले घाटा अपलेखन गरेको १० वर्ष भएको छ। यो बीचमा प्राधिकरणले वित्तीय अवस्थालाई उल्लेख्यरूपमा सुधार गरेको हो।
सरकारले २०७३ भदौमा प्राधिकरणको नेतृत्व परिवर्तन गर्दै कुलमान घिसिङलाई कार्यकारी निर्देशक बनाएको थियो। घिसिङ प्राधिकरणमा आएयता उनले संस्थानलाई नाफामा लगेका छन् भने सञ्चित नोक्सानमा रहेको अवस्था उल्ट्याएका छन्।
आर्थिक वर्ष २०७६/०७७ मा प्राधिकरणले ११ अर्ब ५ करोड रूपैयाँ नाफा गरेको छ। प्राधिकरणले गत आर्थिक वर्षमा विद्युत बिक्री तथा अन्य आम्दानीबाट ७७ अर्ब ८० करोड रूपैयाँ कमाएको विवरण सार्वजनिक गरेको छ। प्राधिकरणले विद्युत बिक्रबाट भएको आम्दानीको ५१.३ प्रतिशत रकम विद्युत खरिदमा खर्च भएको पनि जनाएको छ।
प्राधिकरणले आफूअन्तर्गतको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट सन् २०२० अन्त्यबाट विद्युत उत्पादन सुरु हुने जनाएको छ। यो आयोजनाका सबै युनिट सन् २०२१ को फेब्रुअरी अर्थात् आगामी फागनुन १५ भित्रमा सञ्चालनमा आउने प्राधिकरणले उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।