काठमाडौं– हरेक वर्ष मधेसमा शीतलहर चल्छ। गरिब-निमुखाहरुका लागि भने चिसो सिरेटो मात्र आउँदैन, यो त काल बनेर आउँछ।
यही शीतलहरमा पूजा कर्णले बुवा गुमाइन्।
बुवाले छाडेर जाँदा उनी सानै थिइन्। आमाकै सहारामा हुर्किइन्। र, धनुषामै ९ कक्षासम्म पढिन्।
शारीरिक रुपमा पूजाको देब्रे खुट्टा छैन। घरको आर्थिक अवस्था नाजुक भएका कारण निमोनिया बिग्रेपछि उनले खुट्टाको उपचार गर्न पाइनन्। 'त्यसपछि त पढाइ पनि छुट्यो,' उनी भन्छिन्।
अहिले उनको खुट्टाको उपचार त भइरहेको छ। तर ठिक हुने हो होइन उनी भन्न सक्दिनन्। 'उपचार भएर जाती भए त अरु जस्तै ठमठम हिँड्न सक्थे,' उनले सुनाइन्, ‘एक पटक अप्रेसन गरिसकेँ। अर्को पटकको अप्रेसनपछि पूरै निको हुने डाक्टरले आश्वासन दिएका छन्। त्यसपछि म कुनै सहाराबिना हिँड्न सक्छु होला।'

उनी गरिबी र अभावले ग्रस्त 8मा हुर्किइन्। त्यही 8को कथामा यादव भट्टराईले फिल्म बनाए 'भोर'। भोर अर्थात्, घाम झुल्किनु अघिको मिर्मिरे बिहानी। पूजा भोरकी पात्र दुलारी हुन्।
मधेसमा व्याप्त दाइजोले निम्त्याएको समस्या, महिला हिंसा र हत्याको कथा फिल्मले उठाएको छ। दाइजो प्रथाले जकडिएको जनकपुर नजिकैको गाउँको कथामा बगेको फिल्ममा पूजाले शारीरिक रुपमा अशक्त दुलारीको जीवनमा प्राण भरेकी छन्। अधिकांश समय मौन रहेरै अरुको क्रियाकलाप नियाल्ने र सकारात्मक निर्णय लिने उदाहरणीय पात्रको रुपमा उनको अभिनय जमेको छ।
आफू अपांग भए पनि श्रीमान् अजयकुमारले निकै साथ दिएको पूजा सुनाउँछिन्। 'फिल्ममा आउनुमा पनि उहाँले निकै सहयोग गर्नुभएको छ,' उनी भन्छिन्।

उनी हाल संगीतको कक्षा पनि लिइरहेकी छिन्, जनकपुरमै। एउटा बैसाखीको सहारा हिँड्ने उनमा आत्मविश्वास निकै छ। जसको कारण उनी उनी फिल्म र संगीतमा पनि उत्तिकै प्रतिबद्ध भएर लागिरहेकी छन्।
‘जीवनमा धेरै चिज गुमाएँ। बाबा बित्नुभयो, खुट्टा गुम्यो, पढाइ पनि बीचमै टुट्यो,' उनी गर्विलो स्वरमा भन्छिन्, 'तर यी सबै कुरालाई बिर्सिएर आत्मबल दह्रो बनाइरहेको छु। मैले 8का लागि अझ धेरै गर्न बाँकी नै छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।