काठमाडौं- साउन ५ गते बसेको मन्त्रिपरिषद् बैठकले साउन ७ गतेदेखि लागू हुने गरी लकडाउन अन्त्य गर्ने निर्णय गरेको थियो। करिब चार महिना लामो लकडाउन अन्त्य गर्दा काठमाडौं उपत्यकामा करिब चार सय संक्रमित थिए। लकडाउन अन्त्य गर्ने निर्णय भएकै दिन काठमाडौं उपत्यकामा तीन जना कोरोना संक्रमित थपिएका थिए। काठमाडौंमा २ जना र ललितपुरमा १ जना व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएको थियो।
साउन ५ गतेसम्म काठमाडौं उपत्यकामा ३७३ जना मात्र कोरोना संक्रमित पुगेका थिए। यीमध्ये सबैभन्दा बढी काठमाडौंमा २४९, ललितपुरमा ७९ र भक्तपुरमा ४७ जना संक्रमित थिए। साउन ५ मा देशभर १८६ जना थप कोरोना संक्रमित थपिएपछि कूल संक्रमितको संख्या १७ हजार ८ सय ४४ पुगेको थियो। निको हुनेको संख्या ११ हजार ८६८ पुगेको थियो। ४० जना संक्रमितको मृत्यु भएको थियो।
लकडाउन अन्त्य भएको २० दिन बित्दा अहिले संक्रमितको संख्या हाल संक्रमितको संख्या २३ हजार ३ सय १० पुगेको छ भने १६ हजार ४ सय ९३ जना निको भएर घर फर्किसकेका छन्। संक्रमितमध्ये ८० जनाको भने मृत्यु भइसकेको छ।
हाल (सोमबारसम्म) उपत्यकामा मात्र ११ सय ८० जना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक छ।
प्रहरी हेडक्वाटर, अख्तियारदेखि सर्वोच्च हुँदै नेताको सुरक्षा गार्डसम्म संक्रमित
उपत्यकामा थुप्रै प्रहरी पनि संक्रमित पाइएका छन्। प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत २७ जना एकैपटक संक्रमित पुष्टि भएका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोग हुँदै सभामुख र नेकपाका नेताहरुको सुरक्षा गार्डलाई समेत कोरोना संक्रमण भएको पुष्टि भइसकेको छ।
ज्वरो परीक्षण गर्दा कोरोना
प्रहरी प्रधान कार्यालयका केही प्रहरीहरूलाई केही दिनदेखि निरन्तर ज्वरो आइरहेको थियो। साउन ११ गते पहिलोपटक ज्वरो आएका चार जनाको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ भएको रिपोर्ट आयो। लगत्तै उनीहरूको सम्पर्कमा रहेका अन्य व्यक्तिको परीक्षण गरियो। यसरी परीक्षण गर्दा २७ जना कोरोना पोजेटिभ पाइयो।
त्यसपछि ती प्रहरीका सम्पर्कमा आएका सबैको परीक्षण भयो। यसरी परीक्षण गर्दा सभामुख अग्नि सापकोटाका सुरक्षाकर्मीदेखि नेकपाका अध्यक्ष पुष्पकमल दाहालका सुरक्षाकर्मीसम्मको रिर्पोट पोजेटिभ पाइयो।
प्रहरी मुख्यालयमा कोरोना संक्रमित देखिएपछि अख्तियार र प्रधानमन्त्री कार्यालयमा पनि परीक्षण गरियो। अख्तियारका ३७ जनामा कोरोना संक्रमण देखियो। त्यस्तै सर्वोच्च अदालत र सिंहदरबारमा समेत एकएक जना कोरोना संक्रमित पाइयो। साउन २२ गते नेकपा अध्यक्ष पुष्पकमल दाहालको सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखियो।
अख्तियारमा कोरोना संक्रमपण पुग्नुको कारण प्रहरी मुख्यालय नै भएको बताइँदै आएको छ। प्रहरी मुख्यालयमा रहेका प्रहरीसँगको सम्पर्कका आधारमा अख्तियारमा कार्यरत प्रहरीमा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयको कन्ट्र्याक्ट ट्रेसिङमा देखिएको अख्तियारले जनाएको छ।
अख्तियारबाट बाहिर कतै नगएका मानिसमा देखिएकाले स्वास्थ्य मन्त्रालयले गरेको पहिचानलाई मानेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले बताए। प्रहरी प्रधान कार्यालयमा हालसम्म ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने अन्य केहीको परीक्षण रिर्पोट आउन बाँकी छ। कोरोना पोजेटिभ भएकाहरूमध्ये एक जनाको मात्र ट्राभल हिस्ट्री छ। त्यसैले उनीहरूलाई समुदायबाटै संक्रमण भएको अनुमान गरिएको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा वासुदेव पाण्डेले प्रहरीमा संक्रमण हुनुको उद्धारमा गएका एक प्रहरी भएको संक्रमण हो। उद्धारका लागि गएका प्रहरीबाट नै उनका सहकर्मीमा सरेको अनुमान गरिएको उनले बताए।
काठमाडौँ उपत्यकामा सबैभन्दा धेरै संक्रमित अग्रपंक्तिमा रहेका प्रहरी र स्वास्थ्यकर्मी भएको उनले बताए। डा पाण्डेले एक सयभन्दा बढी सुरक्षाकर्मी संक्रमित भएको बताए।
कुन-कुन ठाउँमा छन् संक्रमित?
महाशाखाको तथ्यांकअनुसार भक्तपुरमा चाँगुनारायण नगरपालिकाका केही ठाउँमा संक्रमण भेटिएको छ। सूर्यविनायक नगरपालिका र भक्तपुर क्यान्सर अस्पतालमा पनि संक्रमित भेटिएका छन्। भक्तपुरको ब्याँसी, चागुनारायण, कमल विनायक, गठ्ठाघर, कौशलटार, बालकोट, बोडे, भोलाछे, बागेश्वरी, सुर्यमढी र नयाँ ठिमी लगायतका ठाउँमा संक्रमण भेटिइएको छ।
त्यस्तै ललितपुरको ठैब, लुभु, बुङमती, महालक्ष्मीस्थान, हरिसिद्धि, गोदावरी, सुनाकोठी, धापाखेल, सानेपा र खुसिबुमा पछिल्लो एक सातामा संक्रमण देखिएको छ। त्यस्तै भैंसेपाटी, टीकाथली, नखिपोट, थसिखेल, हात्तीवन र चापागाउँमा संक्रमित भेटिएका छन्।
काठमाडौंमा चन्द्रागिरि, कपन, शंखमूल, कीर्तिपुर, नयाँ बानेश्वर, मैतिदेवी र पुरानो बानेश्वरमा पछिल्लो पटक संक्रमित भेटिएका छन्। त्यस्तै साँखु, बौद्ध, बागबजार, बालुवाटार, महाराजगञ्ज, कागेश्वरी, टोखा, कपुरधारा, कलंकी, तारकेश्वर, सीतापाइला, धापासी, गोकर्णेश्वर लगायतका ठाउँमा पनि संक्रमित भेटिएका छन्।
न मास्क, न सामाजिक दूरी
नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको एक अध्ययनले काठमाडौंमा अझै पनि २८ प्रतिशतले मास्क नलगाएको देखाएको छ। मास्क लगाउनेमध्ये पनि २७ प्रतिशतभन्दा बढीले नै उचित तरिकाले नलगाएको अध्ययनले देखाएको छ।
परिषदको अध्ययनअनुसार मास्क लगाउनेको प्रतिशत ७२ दशमलव १ प्रतिशत रहेको छ भने मास्क नलगाउनेको प्रतिशत २७ दशमलव ९ प्रतिशत छ। अध्ययनअनुसार मास्क लगाउनेमध्येमा पनि कपडाको मास्क लगाउने १५ दशमलव ८ प्रतिशत छ।
जनस्वास्थ्य मापदण्ड एसमएमएस (दुरी, मास्क र स्यानिटाइजर तथा साबुनपानीको प्रयोग)का विषयमा परिषदले गरेको अध्ययनले यस्तो तथ्यांक देखाएको हो।
परिषद्का अनुसार व्यक्तिगत तहमा ४ हजार ५०२ जनामा अवलोकन गर्दा मास्क लगाउने ७२ दशमलव १ प्रतिशत भेटिएको हो भने नलगाउने २७ दशमलव ९ प्रतिशत भेटिएको हो।
त्यसैगरी सार्वजनिक स्थलमा जम्मा २ हजार ७०३ जनामध्ये सही तरिकाले मास्क लगाउने ७२ दशमलव ६६ प्रतिशत थिए। यस्तै सार्वजनिक स्थलमा नाक मुनी वा चिउँडोमा मास्क लगाउने, घाँटीमा मास्क झुन्ड्याउने, मास्क हातमा झुन्ड्याउने, मास्कको कडा भागलाई नाकको आकारमा नथिचेर लगाउनेको २७ दशमलव ३४ प्रतिशत थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार हालसम्म काठमाडौं उपत्यकामा ११ सय ८० व्यक्ति संक्रमित भएका छन्। जसमा काठमाडौंमा ९ सय ४८, ललितपुरमा १ सय ४३ र भक्तपुरमा ८९ संक्रमित छन्।
उपत्यकामा लक्षण भएका संक्रमितको संख्या ३ सयभन्दा बढी रहेको छ भने लक्षण नभएका ७ सयभन्दा बढी छन्। ट्राभल हिस्ट्री नभएका ६ सय संक्रमित भइसकेका छन् भने ४ सयभन्दा बढीको ट्राभल हिस्ट्री देखिएको छ।
काठमाडौं उपत्यकाका तीन जिल्लामा देखिएका संक्रमितको दैनिक विवरण
उपत्यकामा दैनिक रूपमा थपिएका संक्रमितको संख्या
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।