काठमाडौं–श्रीलंकामा भएको संसदीय निर्वाचनमा सत्तारुढ श्रीलंका पिपल्स फ्रन्ट (एसएलपीपी) दुई तिहाई स्थानमा विजयी भएको छ। बिहीबार भएको निर्वाचनमा संसदको २ सय ४५ सिटमध्ये एसएलपीपी १ सय ४५ स्थानमा विजयी भएको हो।
निर्वाचनमा पाँच सिट एसएलपीपीको सहयोगी पार्टीलाई प्राप्त भएको छ। एसएलपीपीले अन्य ५ दलसँग मिलेर गठबन्धन बनाउन सक्ने आँकलन गरिएको छ।
प्रमुख विपक्षी पार्टी भने ५४ सिटमा खुम्चिएको छ।
अब वर्तमान प्रधानमन्त्री महिन्दा राजापाक्षेले नै नयाँ प्रधानमन्त्रीको सपथ लिने निश्चित छ, जसलाई उनकै भाइ राष्ट्रपति गोटाबाय राजापाक्षेले सपथ खुवाउनेछन्। उनी गत नोभेम्बरदेखि कार्यवाहक प्रधानमन्त्रीका रुपमा थिए।
राष्ट्रपति राजापाक्षेले आफ्नो ट्वीटरमा संसदीय निर्वाचनमा आफ्नो पार्टीको ठूलो जित भएको उल्लेख गरेका छन्।
श्रीलंकामा एसएलपीपीले ९ महिना पहिला राष्ट्रपति चुनेको थियो। त्यसपछि गोटाबाया राजापाक्षेले १८ नोभेम्बरमा शपथ लिएका थिए।
नतिजा घोषणापछि महिन्दा राजापक्षेले ट्वीटरमार्फत् भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लगायतले जितका लागि शुभकामना दिएको जानकारी गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।