काठमाडौं– काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसिटिसी)ले नयाँ प्रयोग मार्फत यु–१५ लिग क्रिकेट लिग गरेको छ।
लिगका लागि अक्सन मार्फत टिम छनोट गरिएको थियो भने प्रत्येक टिमको स्वामित्व अभिभावकले ग्रहण गरेका थिए। ६ टिमका लागि १२/१२ खेलाडी अक्सन मार्फत छनोट गरिएको थियो।
'हामीले केसिटिसी आबद्ध खेलाडीको श्रेणी निर्धारण गरेर अक्सन गरेका थियौं। मार्की प्लेयर पनि छनोट गर्दै लिगका लागि टिम बनाएका थियौं', केसिटिसी सञ्चालक ज्ञानेन्द्र मल्लले भने।
राष्ट्रिय टिमका उपकप्तान मल्लका अनुसार, टिमको स्वामित्व पनि अविभावकलाई दिइएको थियो।
'हामीले प्रतियोगिताको सम्पूर्ण खर्च हिसाब गरेर ६ भागमा विभाजन गरेका थियौं। सबै टिमले समान खर्च बेहोर्नेगरी ५ टिमको स्वामित्व अभिभावकले ग्रहण गर्नुभयो भने एक टिमको स्वामित्व हामीले लियौं', मल्लले भने, 'प्रत्येक खेलाडीका लागि श्रेणी अनुसार बोली पनि लगायौं। तर, हामीले सबै खेलाडीलाई अक्सन रकमको साटो किट्स र अन्य सामग्री प्रदान गर्यौं।'
यसरी निर्माण गरिएको ६ टिमबीच गत साता मूलपानी मैदानमा लिग सञ्चालन भएको थियो। लिग चरणमा १५ र फाइनल गरी १६ वटा खेल भए। लिगमा केसिटिसी लिटिल राइनोज, केसिटिसी कोल्ट्स, केसिटिसी इग्लेट्स, केसिटिसी कब्स, केसिटिसी पप्स र केसिटिसी किट्सले भाग लिएका थिए। शनिबार भएको फाइनलमा कब्सलाई पराजित गर्दै लिटिल राइनोजले उपाधि जित्यो।

'खेलाडीका लागि लगाइएको बोली र टिम स्वामित्वको रकम थोरै थियो। हामीले युवा क्रिकेटरलाई खेल वातावरण दिन र लिडरसिप क्षमता विकास गर्न अक्सनमा आधारित लिग सञ्चालन गरेका हौं', मल्ल भन्छन्, 'सानो मैदानमा प्रशिक्षण गराउँदा खेलाडीको क्षमता वृद्धि हुँदैन। त्यसैले खेलाडीलाई नयाँ वातावरणमा भिज्न र रणनीतिमा खेल्न सिकाउन लिग सञ्चालन गरेका हौं।'
लिगलाई अभिभावक तथा युवा क्रिकेटरले मन पराएको मल्लले अनुभव गरेका छन्।
'आफै टिमको स्वामित्व ग्रहण गरेर लिग गराउँदा अभिभावक तथा खेलाडी उत्साहित थिए', मल्लले सुनाए।
टिमको स्वामित्व ग्रहण गरेका अभिभावकमध्येका एक विश्वजित रानाले लिग सञ्चालन गरेकोमा केसिटिसीलाई धन्यवाद दिए।
'यस्ता लिगले खेलाडीको सिक्ने क्षमता अझ बढेको पाएँ। प्रतियोगितालाई निरन्तरता दिएमा खेलाडी उत्पादनमा ठूलो योगदान पुग्नेछ', केसिटिसी किड्सको स्वामित्व लिएका रानाले भने।

केसिटिसीले अघिल्ला वर्षहरुमा पनि उमेर समूहको लिग गर्ने गरेको थियो। यसपटक भने नयाँ प्रयोगका रुपमा अक्सनमा आधारित लिग सञ्चालन गरेको हो।
झन्डै १० वर्षअघि मल्लसहित ४ जना मिलेर केसिटिसी एकेडेमी स्थापना गरेका थिए। १० वर्षको बीचमा धेरै खेलाडी उत्पादन गरिसकेको केसिटिसीमा अहिले एक सय जनाभन्दा बढीले क्रिकेट सिकिरहेका छन्।
ललितपुरको सानेपामा रहेको केसिटिसीबाट क्रिकेट सिकेका राजेश पुलामी मगर राष्ट्रिय टिममा परेका थिए। त्यस्तै, केसिटिसीकै उत्पादन आदिल खान, नन्दन यादव र सुमित महर्जनले पनि उमेर समूहमा राम्रो छाप छाड्न सफल भइसकेका छन्।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।