काठमाडौं- राष्ट्रिय जलस्रोत नीति २०७७ मन्त्रिपरिषदबाट स्वीकृत भएको छ। अर्थ एवं संचार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले जलस्रोत नीति स्वीकृत गरेको जानकारी दिए। ऊर्जा, जलस्रोत तथा सिचाईं मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदमा पुगेको उक्त नीति पछिल्लो ६ महिनादेखि मन्त्रिपरिषदमै अड्किरहेको थियो।
मुख्यतया पानीको उपयोग तथा संरक्षणका लागि तीनै तहका सरकार (संघ, प्रदेश र स्थानीय तह) बीच अधिकार उपयोगमा तालमेल मिलाउने उद्देश्यले सरकारले यो नीति ल्याएको हो। नेपालमा वार्षिक करिब २ सय अर्ब घनमिटर पानी विभिन्न नदी नालाबाट तथा १० अर्ब घनमिटर पुनर्भरण हुने भूमिगत स्रोतबाट उपलब्ध हुने गरेको छ। तर, उपलब्ध जलस्रोतमध्ये १० प्रतिशतमात्र उपयोगमा छ। सन् २०३० सम्म हासिल गर्नुपर्ने संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्य हाँसिल गर्नका लागि जलस्रोतको विकास र व्यवस्थापन प्रत्यक्ष रुपले जोडिएकाले मन्त्रालयले यो नीति प्रस्ताव गरेको थियो।
मन्त्रिपरिषदबाट पारित नीतिको पहिलो प्राथमिकतामा जलस्रोत खानेपानी र घरेलु उपयोगलाई दिइएको छ। त्यसपछि क्रमशः सिंचाईं, पशुपालन तथा मत्स्य पालन, जलविद्युत, औद्योगिक प्रयोजन तथा खानीजन्य उपयोग, जल यातायात, धार्मिक, सांस्कृतिक वा वातावरणीय संरक्षण, मनोरञ्जन र पर्यटनलाई राखिएको छ। यस्तै नीतिमा वन विनाश, भू–क्षय तथा वातावरणमा प्रतिकूल प्रभाव पार्नेगरी अवैज्ञानिक तबरले निर्माण गरिने सडक र बस्तीका साथै नदीबाट ढुंगा, गिटी, बालुवाको अनियन्त्रित दोहन रोकथामका लागि सम्बन्धित सबै निकायबीच समन्वय गरी जलाधार क्षेत्रहरुको संरक्षण गरिने उल्लेख छ।
नीतिले जलस्रोतको दिगो व्यवस्थापनका लागि जलाधार एवं भूमिगत जलस्रोतको पुनर्भण्डारण क्षेत्रको संरक्षण गरी जलमा आधारित जीव, वनस्पति, आदिले युक्त प्राकृतिक वातावरण तथा धार्मिक, सांस्कृतिक सम्पदा र सामाजिक वातावरणको संरक्षण गर्ने उद्देश्य लिएको छ।
संघ, प्रदेश र स्थानीय तहबाट हुने सडकलगायत पूर्वाधार निर्माणका क्रममा जलाधार क्षेत्रको संरक्षणका लागि निर्माणपछि कायम गरिनुपर्ने हरियाली, तथा जलाधार संरक्षणसम्बन्धी मापदण्ड तयार पारी लागू गरिने पनि जलस्रोत नीतिमा उल्लेख छ। विकास आयोजनाको डिजाइन गर्दा नै जलस्रोत संरक्षणको मापदण्डअनुसार भए/नभएको स्पष्ट गनुपर्ने तथा आयोजनाको डिजाइनपूर्व नै संरक्षण मापदण्ड पूरा गरेको प्रमाणपत्र लिनुपर्ने नयाँ व्यवस्था नीतिमा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।