काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशनलाई प्रभावित पार्ने गतिविधी गर्न लागेको निष्कर्षमा रामचन्द्र पौडेल पक्ष पुगेको छ।
पौडेल पक्षले सभापति देउवाको ध्यानाकर्षण गराउने तयारी थालेको छ। पौडेल पक्षको बुधबार अनामनगरमा भएको भेलाले सभापति देउवा समूहले पार्टी प्रवेशका नाममा जथाभावी क्रियाशील सदस्यता वितरण गर्ने लागेको भन्दै रोक्नुपर्ने सहभागी नेताहरुले बताएका थिए।
भेलामा वरिष्ठ नेता पौडेल, महामन्त्री डा शाशंक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्री अजुर्ननरसिंह केसी, डा मीनेन्द्र रिजाल, दीलेन्द्रप्रसाद बडुलगायतका नेताहरु सहभागी थिए। भेलामा सभापति देउवा समुहले आफुसँग असहमत पक्षलाई अनुशासनका नाममा कारवाही गरेर तर्साउने काम थालेको निष्कर्ष निकालेको छ। विषेशगरी प्रवासमा रहेका कतिपय आफुसँग असहमत नेता कार्यकर्ताहरुलाई कारवाही गरेर सभपाति देउवा पक्षले तर्साउन खोजेको निष्कर्ष निकालेको छ।
पछिल्लो पटक बेल्जियम जनसम्पर्क समितिकी सभापति सिता सापकोटालाई कारवाहीको प्रक्रिया अगाडि बढाएको छ। सापकोटालाई नागरिकता विधेयकमा उपभापति बिमलेन्द्र निधीको विचारसँग असहमति जनाएको आरोपमा कारवाही प्रक्रिया अगाडि बढाइएको छ।
सभापति देउवा पक्षले प्रवासमा मात्र नभएर मुलुकभित्र पनि असहमत पक्षलाई तर्साउन लागेको निष्कर्षमा पौडेल पक्ष पुगेको छ। त्यसैगरी विभाग गठनका नाममा सभापति देउवा पक्षले विभिन्न नियुक्तिमा लागेकोमा समेत आपत्ति जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।