नयाँ दिल्ली- भारतमा एकैदिन कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या साढे २९ हजारसम्म पुगेको छ। यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीहरुले बुधबार जानकारी दिएका छन्।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा २९ हजार ४२९ संक्रमित भएको जनाएको छ। मन्त्रालयका अनुसार योसँगै भारतमा कुल संक्रमितको संख्या नौ लाख ३६ हजार १८१ पुगेको छ।
त्यसैगरी भारतमा कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या २४ हजार ३०९ पुगेको छ। ती मध्ये ५८२ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ।
भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरुको संख्या तीन लाख १९ हजार ८४० रहेको छ भने पाँच लाख ९२ हजार ३२ जना संक्रमणमुक्त भइसकेका छन्। प्रदेश अनुसार सबैभन्दा धेरै संक्रमितहरु रहेको महाराष्ट्र राज्यमा संक्रमितहरुको संख्या दुई लाख ६७ हजार ६६५ पुगेको छ। तीमध्ये दश हजार ६९५ जनाको मृत्यु भइसकेको छ।
त्यसैगरी कोरोनाबाट दोस्रो धेरै प्रभावित भएको तमिलनाडु प्रदेशमा कुल एक लाख ४७ हजार ३२४ संक्रमित हुँदा दुई हजार ९९ जनाको मृत्यु भएको छ।केन्द्रीय राजधानी रहेको दिल्लीमा पनि एक लाख १५ हजार ३४६ जना संक्रमित भएका छन् भने तीन हजार ४४६ जनाको कोरोनाका कारण मृत्यु भएको छ।
(रासस-एएनआई)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।