इस्लामावाद- पाकिस्तानको उत्तरी वाजिरिस्तान क्षेत्रमा लुकिछिपी बसेका आतंकवादीहरुसँग भएको झडपका क्रममा परी कम्तीमा पनि चार जना पाकिस्तानी सेनाको ज्यान गएको जनाइएको छ। उक्त क्षेत्रमा आतंकवादीहरु लुकिछिपी बसेकाे सूचना पाएपछि पाकिस्तानको सैनिकले कारबाही गरेको थियो।
उक्त कारबाहीका क्रममा साेमबार ती सैनिक मारिएको पाकिस्तान सरकारले जनाएको छ। कारबाहीका क्रममा कम्तीमा चार जना पाकिस्तानी सैनिक मारिएका छन्, पाकिस्तानी सेनाको स्रोतलाई उदृत गर्दै पाकिस्तानको दैनिक पत्रिका डनले जनाएको छ।
पाकिस्तानी सेनाले प्रकाशन गरेको विज्ञप्तिमा उत्तरी वाजिरिस्तानमा आतंकवादीहरुलाई खोजी गएको सेनामाथि लुकेर बसेका आतंकवादीहरुले हमला गरेका थिए। पाकिस्तानी सेनाले त्यसको जवाफी फायर गरेको र सेनातर्फ चार जनाको ज्यान गएको पाकिस्तानका सैनिक अधिकारीले जनाएका छन्।
गत महिनामा पनि सोही क्षेत्रमा पाकिस्तानी सेनाका दुई जना सदस्यको यसैगरी ज्यान गएको थियो। तर यस आक्रमणका विषयमा कुनै पनि आतंकवादी संगठनले भने केही बताएको छैन।
(रासस-एएनआई)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।