एजेन्सी- इस्ताम्बुलको हागिया सोफियालाई मस्जिदमा परिर्वतन गर्ने तुर्की सरकारको फैसलाले आफूलाई दुःख लागेको पोप फ्रान्सिसले बताएका छन्। भेटिकनमा भएको एक सभामा बोल्दै रोमन कैथलिक गुरु पोपले यस्तो बताएका हुन्।
हागिया सोफिया करिब १५ हजार वर्ष पहिले एक इसाई चर्चको रुपमा निर्माण भएको थियो। सन् १४५३ मा इस्लाम धर्म मान्ने आटोमन साम्राज्यले जित हात पारेपछि मस्जिदमा बदलिएको थियो। युनेस्को वर्ल्ड हेरिटेजका अनुसार हागिया सोफियालाई १९३४ मा आधुनिक तुर्कीका निर्माताको रुपमा चिनिने मुस्तफा कमाल पाशाले देशलाई धर्मनिरपेक्ष घोषणा गरे लगत्तै मस्जिदबाट संग्राहलयमा परिर्वतन गराएका थिए। तर, पछिल्लो हप्ता तुर्कीको एक अदालतले हागिया सोफियालाई संग्राहलयको अवस्था रद्द गरिदिएको थियो।
अदालतले मस्जिदबाहेक अन्य कुनै प्रयाेजनमा उपयोग गर्न कानुनी रुपमा सम्भव नभएको फैसला सुनाएको थियो। पोपले बदलिएको अवस्थाबारे धेरै प्रतिक्रिया दिएनन्। ‘म इस्तानबुलको बारेमा सोचिरहेको छु, म सोफियाको बारेमा पनि सोचिरहेको छु,’ पोपले भने, ‘यो निर्णयले मलाई धेरै दु:ख पुर्याएको छ।’
तुर्कीका राष्ट्रपति रेचेप तैथ्यप अर्दोआनले हागिया सोफियामा २४ जुलाईमा पहिलो नमाज पढिने बताए। तुर्कीमा कट्टर इस्लामवादीहरुले लामो समयदेखि हागिया सोफियालाई मस्जिदमा परिर्वतन गर्नुपर्ने वकालत गर्दै आएका छन्। तर, तुर्कीका धर्मनिरपेक्ष समूह यसको विपक्षमा रहँदै आएका छन्। तुर्कीका राष्ट्रपतिले यो निर्णय सरकारले परिपक्क रुपमा लिएको र यहाँ मुस्लिम, गैरमुस्लिम र अन्य विदेशी यात्रुहरुका लागि सधै खुल्ला हुने बताए।
पोप फ्रान्सिस तुर्कीको निर्णयको निन्दा गर्ने धार्मिक नेतामा परेका छन्। वर्ल्ड काउन्सिल अफ चर्चले तुर्की राष्ट्रपति अर्दोआनको यो निर्णय उल्टाउले आश गरेको टिप्पणी गरेका छ। यो रुसमा रहेको इसाई समुदायको महत्वपूर्ण धार्मिकस्थल हो। ग्रीसले पनि तुर्की अदालत र सरकारको निर्णयको आलोचना गरेको छ।
वर्ल्ड हेरिटेज कमिटिले यो अवस्थाको समीक्षा गरिने बताएको छ। तुर्कीका चर्चित लेखक एवं नोबेल पुरस्कार विजेता ओरहान पामुकले यसको गौरव खोसिएको टिप्पणी गरे। तुर्की एक धर्म निरपेक्ष देश भएकाले यो निर्णय गलत भएको उनको टिप्पणी थियो। ‘म जस्ता लाखौं तुर्की मुसलमानहरु जाे यो निर्णयको विरुद्धमा रहेका छौ,’ पामुकले भने, ‘तर हाम्रो आवाज सुनिने छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।