एजेन्सी- बेलायतमा १०४ वर्षीया वृद्धाले काेराेना भाइरसलाई जितेकी छन्। ग्रेस ग्रीनवुडले अस्पताल नगई काेराेनालाई जितेकी हुन्। उनकाे उपचार घरमै भएकाे हाे।
पछिल्लो तीन हप्तासम्म उनी ओछ्यानबाट उठ्न सकिनन्। उनलाई सास लिन पनि गाह्रो भएकाे थियो। तर, उमेरका बावजुद पनि उनलाई अस्पताल जानु परेन र उनी घरमै निकाे भइन्। अहिले उनी पूर्ण रूपमा निको भएकाे बिबिसीले उल्लेख गरेकाे छ।
उनकी नातिनी क्रिस्टल अपोलोनियाले हजुरआमा केही हप्ता अघि बिरामी भएकाे र अहिले निकाे भएकाे जानकारी दिइन्। ग्रेस परिवारका अनुसार उनले आफ्नो जीवनकाे अधिकांश समय बिरामीहरुको सेवामा बिताएकी छन्, त्यसैले उनीसँग चुनौतीहरुको सामना गर्ने हिम्मत छ।
ग्रेस ग्रीनवुडकाे जन्म बर्मा (म्यानमार)मा भएको हाे। उनले केही समय भारतमा नर्सको रूपमा पनि काम गरेकी थिइन्। उनी १९४६ मा बेलायत आएकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।