काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले आयाेगकी सदस्य मोहना अन्सारीले ट्विटमार्फत् सरिता गिरीको पक्षमा दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएको छ। आयोगका अध्यक्ष अनुपराज शर्माले ट्विटमा व्यक्त गरेको विचारप्रति ध्यानाकर्षण भएको प्रेस विज्ञप्तिमार्फत् जनाएका हुन्।
‘संविधान, कानुन र दलको विधानले दिएको अधिकार प्रयोग गरी सरिता गिरीमाथि गर्न लागेको कारबाहीलाई 'खेदजनक' तथा 'कथित् छानविन प्रतिवेदन' भनी दलको अधिकारलाई निस्तेज पार्ने गरी सामाजिक सञ्जालमा व्यक्त गर्नुभएको भनाइलाई आयोगले अस्वीकार गर्दछ’, विज्ञप्तिमा उल्लेख छ।
आयोगले असार १५ मा आफ्ना सदस्यहरूलाई भ्रम सिर्जना हुनेगरी नबोल्न सचेत गराएको थियो। सचेत बनाउँदा बनाउँदै पनि अन्सारीको ट्विटरमा यसप्रकारको अभिव्यक्ति आउनु खेदजनक भएको आयोगले जनाएको छ।
आयोग सदस्य अन्सारीले गत मंगलबार समाजवादी पार्टीले आफ्ना संसद सदस्य सरिता गिरीमाथि पार्टीकाे विधान र राजनीतिक दलसम्बन्धी ऐनबमोजिम कारबाही गर्ने विषयमा सो कारबाहीलाई खेदजनक रहेको ट्विटरमा लेखेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।