करिब १५ वर्षयता प्रविधिले निकै फड्को मारेको छ, विशेषगरी मोबाइल फोन प्रविधिले। कसैले सोचेको पनि थिएन होला, भविष्यमा एक फोनबाट अर्को फोनमा बिनातार फाइलहरु सेयर गरिने छ, फोन चार्ज गरिने छ, वायरलेस इयरफोन हुनेछ अनि सेल्फी युगमा प्रवेश गरिनेछ।
हाम्रो पारम्परिक मोबाइल फोन अब 'स्मार्टफ़ोन' भएको छ। मानिसबाहेक सबै चिज स्मार्ट भएका छन्। स्टिभ जब्सले एकपल्ट भनेका थिए, 'स्मार्टफ़ोन वास्तवमै अलग छ।'
हो, स्मार्टफोन धेरै कारणले अलग छन्। तर यसले बारम्बार हामीलाई चिढ्याइरहन्छ। जब हामी काम गरिरहेका हुन्छौं, यसले बाधा पुर्याइरहेको हुन्छ। हाम्रो ध्यानको प्रतीक्षामा हुन्छ अनि आफूप्रति आकर्षित गरिरहेको हुन्छ।
यी सबै प्राविधिक परिवर्तन आफैं भएका होइनन्, कैयौं इन्जिनियरका अध्ययन अनि अनुसन्धानबाट डिजाइन गरिएका हुन्। त्यस्ता स्मार्टफोन बनाउने कम्पनीहरूले हाम्रो मस्तिष्कमा उनीहरूको उत्पादनको न्युरोलोजिक प्रभावहरूको बारेमा निकै अध्ययन गरिरहेका छन्।
आजको समयमा स्मार्टफोन बनाउने कम्पनीमात्र नभई एप्स बनाउने कम्पनीहरुले पनि आफ्ना उत्पादनमा यस्ता फिचरहरु समावेश गरिरहेका छन्, जसका कारणले हामीलाई आफ्ना उपकरणहरुमा सकेसम्म धेरै समय र ध्यान खर्च गर्न बाध्य बनाउँछ।
प्रयोगकर्ताले उपकरणमा खर्च गर्ने समयको मात्रा अधिकतम बनाउन् भनेर ती कम्पनीहरूका डेभलपर र डिजाइनरले हाम्रो मस्तिष्क रसायनलाई एक तरिकामा हेरफेर गर्छन्, जसले नशाको लतको व्यवहारलाई ट्रिगर गर्छ र यी प्रविधिहरूमा एक मस्तिष्क रसायन समावेश हुन्छ, जसलाई 'डोपामाइन' भनिन्छ।
डोपामाइन एक न्युरोट्रान्समिटर हो, जसले मस्तिष्क र शरीरका विभिन्न स्नायु कोषहरूबीच सन्देश पठाउने जिम्मेवार रसायनको काम गर्छ।
डोपामाइनलाई शरीरको रिवार्ड याक्टिभेटरको रूपमा पनि चिनिन्छ, हाम्रो मस्तिष्कको प्लेजर सेन्टर (मस्तिष्कमा आनन्ददायक कुरा स्टोर गर्ने स्थान)लाई नियन्त्रण गर्दै हामीलाई थ्रिल सिकिङ (डर पैदा गर्ने) गतिविधिहरूमा संलग्न हुन प्रोत्साहित गर्छ।
मानिसलाई उत्साह मन पर्छ र डोपामाइनले हामीलाई उत्साहित बनाउँछ। कुनै पनि अनुभव, जसले डोपामाइनको रिलिजलाई ट्रिगर गर्छ, त्यो चिज हामी फेरि फेरि अनुभव गर्न चाहन्छौं। उदाहरणका लागि रक्सी, चुरोट सेवन गर्दा शरीरमा डोपामाइन सिर्जना हुन्छ, जसले गर्दा मानिसलाई आनन्द महसुस हुन्छ र ऊ फेरिफेरि त्यस्ता चिजको सेवन गर्छ।
बारम्बार फोन हेर्नाले हामी उत्साहित हुन्छौं भन्ने मस्तिष्कले थाहा पाएपछि यसले डोपामाइन रिलिज गर्न धेरै समय लगाउँदैन। यस कारण अरू कसैले उनीहरूको फोन चेक गरेको देख्दा हामीलाई पनि हाम्रो फोन चेक गर्न कौतुहलता पैदा गरिदिन्छ। त्यस्तै जब हामी फेसबुक वा अन्य कुनै सामाजिक सञ्जालमा फोटो, भिडियो वा स्टाटस राख्छौं, हाम्रो ध्यान त्यसले तानिरहेको हुन्छ। हाम्रो कामप्रति ध्यान जाँदैन र मस्तिष्कले बारम्बार फोन चेक गर्न बाध्य बनाउँछ। लाइक, कमेन्टहरुले उत्साहित बनाउँछ।
हामी बुझ्दैनौं कि टेक्नोलोजी डिजाइनरहरूले जानाजानी डोपामाइन प्रतिक्रियाहरूमा हेरफेर गरिरहेका छन्, ताकि उनीहरूको उत्पादनलाई प्रयोग गर्नबाट रोक्न हामीलाई गाह्रो होस्। यदि हामी थकित महसुस गरिरहेका छौं भने हामी आफ्ना इ-मेलहरू चेक गर्छौं, यदि त्यहाँ केही नयाँ छैन भने हामी सामाजिक सञ्जाल चेक गर्छौं र यसबाट पनि असन्तुष्ट भयौं भने विभिन्न अरु सामाजिक सञ्जालमा एकाउन्टहरु चेक गर्छौं र यो प्रक्रिया चलिरहन्छ। विभिन्न किसिमका एपहरुले हामीलाई यसरी घेरिसकेका छन् कि दुई पटक एउटै एप प्रयोग नगरी पनि फोनमा घन्टौं खर्च गर्न सक्छौं।
तर, दुर्भाग्य, हामीले कहिले सोचेनौ, आइफोन र अन्य मोबाइल फोन निर्माणकर्ताहरू किन हरेक वर्ष नयाँ फिचरका साथ नयाँ स्मार्टफोन लिएर आउँछन्? फेसबुक वा अन्य सोसल मिडिया एपहरुले समय-समयमा किन यति धेरै फिचरहरु लिएर आउँछन्? किन फोनका सबै एपमा नियमित अपडेट भइराखेका छन्? उत्तर सरल छ, तिनीहरू हाम्रो ध्यान गुमाउन चाहँदैनन् र फोन र एपहरूमा बिताएको समय कम गर्न चाहँदैनन्।
संसारमा सबै चिजको सकारात्मक र नकारात्मक पक्ष हुन्छ र स्मार्टफोन पनि यसबाट अछुतो छैन। स्मार्टफोन आधुनिक प्रविधिका मास्टरपिस हुन्। टेक्नोलोजी आउँछन् र जान्छन्। आज हामीसँग स्मार्टफोन छ, कसलाई थाहा? भोलि हाम्रा हातमा यस्ता फोनहरू हुन सक्छन्, जुन मान्छेभन्दा कयौं गुना चलाख होलान्। तर यी टेक्नोलोजीलाई मस्तिष्क कब्जामा लिन दिनु भने हुँदैन।
हरेक चिजको उपभोग सीमित मात्रामा गर्नु नै राम्रो हुन्छ। यदि यी उपकरणमा खर्च गर्ने समय नियन्त्रण गर्न सकिएन भने मानिस स्मार्टफोनको गुलाम भएको दिन आउन धेरै टाढा छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।