एजेन्सी-अमेरिकी गुप्तचर निकाय एफबीआई प्रमुख क्रिस्टोफर रेले चीन अमेरिकाका लागि सबैभन्दा ठूलो खतरा रहेको बताएका छन्। वाशिङटनको हडसन इन्सिच्युटमा उनले चीन सरकारको जासुसी र सूचना चोरी अमेरिकाका लागि हालसम्मकै ठूलो र दीर्घकालीन खतरा रहेको बताए।
‘चीनले कैयौं तहमा अभियान चलाइरहेको छ, उसले विदेशमा रहने आफ्ना नागरिकलाई निशाना बनाइरहेको छ, उनीहरुलाई स्वदेश फर्कन बाध्य पारिरहेको छ र अमेरिकाको कोरोना भाइरसको अनुसन्धानलाई कमजोर पार्ने प्रयास गरिरहेको छ,’ उनले भने।
चीन कुनै पनि हालतमा विश्वकै एक्लो सुपरपावर बन्ने प्रयासमा रहेको उनको दाबी थियो। चीनले निम्त्याएको खतराका बारेमा आगामी दिननमा अमेरिकी महान्यायाधिवक्ता र विदेशमन्त्रीले ध्यान दिने उनले बताए।
अमेरिका र चीनबीच कोरोना महामारी तथा चिनियाँ एप्समाथिको प्रतिबन्धका विषयमा तनाव बढिरहेका बेला एफबीआई प्रमुखको यस्तो अभिव्यक्ति आएको हो। यसै साता अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले चिनियाँ एप्समाथि प्रतिबन्ध लगाउने विषयमा विचार गरिरहेको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।