काठमाडौं- लकडाउनकाे कारण देखाउँदै व्यापारीहरुले चिनीमा अचाक्ली मूल्यवृद्धि गरेका छन्। चिनी उद्योगी र होलसेल व्यापारीले लकडाउनको कारण देखाउँदै मूल्य बढाएसँगै बजारमा चिनीको खुद्रा मूल्य प्रतिकिलो ८५ रुपैयाँ देखि ९० रुपैयाँसम्म पुगेको छ।
बजारमा चिनीको मूल्यवृद्धि भएकाे भन्दै उपभोक्ताबाट गुनासो आएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनी व्यवसायी र साल्ट ट्रेडिङ कर्पोरेसनसँग मूल्यवृद्धिको कारणबारे जानकारी लिएको छ। ‘बजारमा चिनीको मूल्य बढेको गुनासो आएको थियो। हामीले साल्ट ट्रेडिङसँग यसबारे जानकारी लिएका छौं। साल्ट ट्रेडिङले ७३ रुपैयाँ प्रतिकिलोमा बेचिरहेको छ,’ विभागका सहप्रवक्ता ध्रुव खनालले नेपाल लाइभसँग भने।
बाहिरबाट आउने चिनी होलसेल व्यापारीले खुद्रा व्यापारीलाई प्रतिकिलो ७९ रुपैयाँमा बेचिरहेको जानकारी विभागलाई दिएका छन्। लकडाउनको समयमा ढुवानी खर्च, लोड-अनलोडलगायतका खर्चहरु बढेका कारण होलसेल र खुद्रा व्यापारीले चिनीको मूल्य बढाएको जानकारी विभागलाई दिएको खनालले बताए। ‘उनीहरुले मूल्य बढ्नुको कारण लोड-अनलोड र ढुवानी खर्चमै देखाएका छन्। खुद्रा व्यापारीले प्रतिकिलो १ रुपैयाँ ढुवानी, १ रुपैयाँ लोड-अनलोड, १ रुपैयाँ प्लास्टिक झोला र २ देखि ३ रुपैयाँसम्म नाफा राखेर बेच्दा पनि प्रतिकिलो चिनीको मूल्य ८५ रुपैयाँ भन्दा माथि पुगेको देखियो,’ खनालले भने।
चिनीमा मूल्य बढेको देखिए पनि व्यवसायीलाई कारबाही गर्न सक्ने अवस्था भने नरहेको विभागले जनाएको छ। कालाेबजारी र नाफाखोरी गरेको प्रमाणित भएर कारबाही गर्नका लागि अहिलेको व्यवस्थाअनुसार २० प्रतिशत मूल्य वृद्धि देखिनुपर्छ। यद्यपि खाद्यान्नको हकमा भने २–३ प्रतिशतको मुल्यवृद्धिले पनि उपभोक्ता मारमा पर्छन्। कृतिम अभाव सिर्जना गरी मूल्यवृद्धि गरेको विषयमा भने विभागले पुस्ट्याईसहितका आधार अझै फेला पार्न सकेको छैन।
चिनीमा अचाक्ली मूल्यवृद्धि देखिएपछि आपूर्ति विभागले असार महिनाभर साल्ट ट्रेडिङले बिक्री वितरण गरेको चिनीको मूल्यको विवरण मागेको छ। साल्ट ट्रेडिङले प्रतिकिलो ५ रुपैयाँ अनुदानसहित ७३ रुपैयाँमा बेचिरहेको छ। अर्थात् अनुदान नदिँदा साल्ट ट्रेडिङले बेच्ने चिनीको मूल्य पनि ७८ रुपैयाँ प्रतिकिलो हुन जान्छ। तर खुद्रा बजारमा भने चिनीको मूल्य ९० रुपैयाँ प्रतिकिलोसम्म देखिएको छ। साल्ट ट्रेडिङले विभागलाई उपलब्ध गराएको विवरणअनुसार असार १ देखि २२ गतेसम्ममा उसले ११ हजार मेट्रिक टन चिनी बिक्री वितरण गरेको छ। साल्ट ट्रेडिङले बेच्ने चिनी प्रतिव्यक्ति ६ किलो भन्दा बढी पाइँदैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।