एजेन्सी-अमेरिकी औषधि निर्माता कम्पनी माइलान एनभीले अर्को कम्पनी गिलिएड साइन्सेजको एन्टी भाइरल औषधि रेमडेसिभिरको जेनेरिक भर्सन भारतीय बजारमा ल्याउने जनाएको छ। उक्त औषधिको मूल्य ४ हजार ८ सय भारतीय रुपैयाँ हुने जनाइएको छ।
कोभिड–१९ का बिरामीमा परीक्षणपछि चिकित्सकहरुले रेमडेसिभिरले संक्रमित चाँडै निको पार्न सहयोग गरेको पाएका थिए।
क्यालिफोर्नियाको गिलिएड साइन्सेजले १ सय २७ विकासशील देशमा बेच्न माइलान एनभीसँग मिलेर काम गर्न लागेको हो। गत महिना दुई भारतीय कम्पनीहरु सिप्ला र हेटेरो ल्याब्सले रेमडेसिभिरको जेनेरिक भर्सन भारतमा लन्च गरेका थिए। जसअनुसार सिप्लाको तयार पारेको औषधि सिपरेमीको मूल्य ५ हजारभन्दा केही कम र हेटेरो ल्याब्सले तयार परेको औषधि कोभिफोरको मूल्य ५४०० तय गरिएको थियो।
गत साता गिलिएड साइन्सेजले विकसित देशका लागि लक्षित रेमडेसिभिरको मूल्य महंगो राखिएको उल्लेख गर्दै आगामी ३ महिनाभित्र सम्पूर्ण उत्पादन अमेरिकामा बेच्ने गरी सम्झौता भएको जनाएको थियो।
माइलान एनभीका अनुसार रेमडेसिभिरको मूल्य १०० मिलिग्राम भाइलका लागि ४८०० तोकिएको हो। यद्यपि बिरामीका लागि कति भाइल औषधि लाग्छ भन्ने स्पष्ट भइसकेको छैन। यस्तै, यो औषधि भारतीय प्लान्टमै तयार पारिनेछ भने कम्पनीले कम आय भएका १२७ देशमा औषधि बिक्री गर्ने लक्ष्य राखेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।