नयाँ दिल्ली- भारतसँग सीमा विवाद जारी रहँदा चीनले विवादित क्षेत्र गलवान उपत्यका, हट स्प्रिंग्स र गोग्रा क्षेत्रबाट आफ्ना सेना फर्काएको छ।
सीमा विवाद कम गर्ने प्रक्रिया सोमबारबाट सुरु भएपछि चिनियाँ सेनाहरु उक्त क्षेत्रबाट पछि हट्न थालेको बिबिसीले जनाएको छ।
यद्यपि तनाव कम गर्ने प्रक्रिया सीमित स्तरमा मात्र भएको बताइएको छ। अधिकारीहरुलाई उद्धृत गर्दै बिबिसी हिन्दीले विवादित क्षेत्र पाङगोङको बारेमा केही उल्लेख गरिएको छैन।
हाल दुवै सेनाले लगाएका पाल र अन्य अस्थायी ढाँचाहरू हटाउने प्रक्रिया सुरु गरेका छन्। गत जुन ३० मा भएको कमाण्डरस्तरको वार्तापछि तनाव कम गर्ने सहमतिअनुसार दुवैतर्फका सेनाहरू विवादित क्षेत्रबाट पछाडि फर्किएको बताइएको छ। यसअघि गलवानमा चिनियाँ पक्षको आक्रमणका कारण भारतका २० सैनिकले ज्यान गुमाएका थिए।
लगत्तै यो क्षेत्रको विवाद अन्तराष्ट्रिस्तरमा पुगेको थियो। विवादका बीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लद्दाखसम्म पुगेर भाषण गरेका थिए। त्यसको खण्डन चिनियाँ दूतावासले गरेको थियो। चीनले गलवान क्षेत्रमा आफ्नो स्वामित्व रहेको दाबी गर्दै आएको छ।
गलवान उपत्यकाको जुन स्थानमा गत जुन १५ मा भारतीय र चिनियाँ सेनाबीच झडप भएको थियो सो स्थानबाट चिनियाँ सेना एक किलोमिटर पछाडि हटेका छन्।
उक्त झडपमा २० भारतीय सेनाको मृत्यु भएको थियो। भारतीय सेना पनि उक्त क्षेत्रबाट पछाडि हटेका छन् र सिमानामा मध्यवर्ती क्षेत्र निर्माण गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।