एजेन्सी–विश्वमा कोरोना संक्रमितको संख्याका हिसाबले भारत तेस्रो नम्बरमा आइपुगेको छ।
संक्रमितको संख्या ६ लाख ९७ हजार ४ सय १३ पुगेसँगै भारतले रुसलाई समेत पछाडि पारेको हो। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार रुसमा संक्रमितको संख्या ६ लाख ८० हजार २ सय १८ छ। अब भारतभन्दा अगाडि ब्राजिल र अमेरिकामा मात्र छन्। अमेरिकामा २८ लाख ८८ हजार ५ सय ८६ संक्रमित छन् भने ब्राजिलमा १६ लाख ३ हजार ५५ संक्रमित छन्।
भारतीय स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरणअनुसार भारतमा पछिल्लो २४ घण्टामा ४ सय २५ जनाको मृत्यु भएको छ भने हालसम्म निको हुनेको संख्या ४ लाख २४ हजार ४ सय ३२ रहेको छ। यस्तै, २ लाख ५३ हजार २ सय ८७ जनाको हाल उपचार भइरहेको छ। भारतमा हालसम्म १६ हजार ६ सय ९३ जनाको मृत्यु भइसकेको छ।
भारतमा सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा संक्रमितको संख्या २ लाख नाघेको छ। त्यहाँ २ लाख ६ हजार ६ सय १९ संक्रमित छन् भने ८ हजार ८ सय २२ को मृत्यु भएको छ। दिल्लीमा ९९ हजार ४ सय ४४ संक्रमित तथा ३ हजार ६७ जनाको मृत्यु भएको छ भने तमिलनाडुमा १ लाख ११ हजार १ सय ५१ संक्रमित र १ हजार ५ सय १० को मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।