एजेन्सी–भारतमा आइतबार पनि कोरोना संक्रमितको संख्याले नयाँ रेकर्ड कायम गरेको छ। आइतबार २४ घण्टामा २४ हजार ८ सय ५० थपिएसँगै संक्रमितको संख्याले रेकर्ड बनाएको हो। शनिबार भने २४ घण्टामा २२ हजार ७ सय ७१ संक्रमित थपिएका थिए। योसँगै भारतमा संक्रमितको संख्या ६ लाख ७३ हजार १ सय ६५ पुगेको छ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएअनुसार २४ घण्टामा थप ६ सय १३ जनाको मृत्यु भएको छ। त्यहाँ मृत्यु हुनेको संख्या १९ हजार २ सय ६८ पुगेको छ। १ जुनदेखि हालसम्म ४ लाख ३५ हजार ९ संक्रमित थपिएको मन्त्रालयको भनाइ छ।
भारतमा लगातार तेस्रो दिन संक्रमितको संख्या २० हजार नाघेको हो। अब भारत संक्रमितको संख्याका हिसाबले रुसनजिकै पुगेको छ। रुसमा संक्रमितको संख्या ६ लाख ८० हजार २ सय ८३ छ। महाराष्ट्र सबैभन्दा बढी प्रभावित छ। त्यहाँ एक दिनमा ७ हजार ७४ संक्रमित थपिएसँगै कूल संक्रमित २ लाख नाघेका छन्। यस्तै, २४ घण्टामा तमिलनाडुमा ४ हजार २ सय ८० थपिएका छन्।
हालसम्म भारतमा ४ लाख ९ हजार ८ सय २ संक्रमित निको भएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।