काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीपक्षका नेतासँग सत्ता सहकार्यका लागि भेटवार्ता नभएको स्पष्टिकरण दिएका छन्। जारी केन्द्रीय समिति बैठकमा सभापति देउवाले प्रधानमन्त्री ओली र नेकपा उपनेता सुवास नेम्बाङबीच भएको वार्ताको विषयमा बैठकलाई जानकारी गराउन आवाज उठेपछि देउवाले स्पष्टिकरण दिएका हुन्।
१४ औं महाधिवेशनको नयाँ कार्यतालिकामा निर्णय गर्नका लागि बोलाइएको बैठकमा सत्तापक्षसँग सभापतिको हिमचिम बढेको प्रश्न उठेको थियो। बैठकको प्रारम्भमै देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई बोल्न दिएका थिए। पौडेलको भनाई उदृत गर्दै बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने, ‘सभापतिले प्रधानमन्त्री ओलीलाई भेटेको विषयको बाहिरी हल्ला धेरै छन्। आज पनि नेम्वाङसँग भेट भएको छ। भएको के हो? केन्द्रीय समितिलाई जानकारी गराउनुस्।’
पौडेल बोली सकेपछि विषय व्याख्या गर्न देउवाले नेता डा मिनेन्द्र रिजाललाई समय दिए। रिजालले बाहिरबाट अनावश्यक रुपमा उचालिएको बताए। संवैधानिक निकायमा हुने नियुक्तिका सन्दर्भमा चार दिनअघि सभापति र प्रधानमन्त्रीबीच भएको छलफलको निरन्तरता नै आइतबारको बैठक भएको जानकारी गराए। संवैधानिक निकायमा हुने मनोनयनका बारेमा थप छलफल गर्न नेम्वाङ सभापति निवासमा आएको उनले केन्द्रीय समितिको बैठकमा जानकारी गराए। देउवा र नेम्बाङबीच आइतबार भएको बैठक नेता रिजालकै अग्रसरतामा भएको बताइएको छ।
रिजालले बोली सकेपछि देउवाले चार दिनअघिको छलफलको विषय केन्द्रीय समितिमा जानकारी गराएका थिए। प्रधानमन्त्रीले संवैधानिक निकायमा रहेको रिक्तता पूर्तिका लागिमात्रै छलफलका लागि बोलाएको जानकारी गराए। सत्ता समीकरण र नेकपा विवादबारे बैठकमा छलफल नभएको उनले प्रष्टाए।
१४ औं केन्द्रीय महाधिवेशन पूर्व निर्धारित मिति फागुन ७ देखि १० सम्म हुने पूर्व घोषित कार्यतालिका छ। केन्द्रीय महाधिवेशनको मिति सोहि मितिमा हुने गरी तल्लो तहको अधिवेशनको कार्यतालिका केन्द्रीय समितिले परिवर्तन गर्ने बताइएको छ। बैठक जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।