काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठकका लागि तय नै नभएका एजेन्डामा छलफल गराइएको भन्दै तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। शनिबार साँझ ७ बजे राज्यमन्त्री तथा मन्त्रीहरूसँग छलफल गर्दै यस्तो बताएका हुन्।
'हामी अहिले पनि पार्टी एकताकै पक्षमा छौं। पार्टीलाई जोगाएर अघि बढ्नुपर्छ,' छलफलमा सहभागी भएका एक मन्त्रीले प्रधानमन्त्रीलाई उद्धृत गर्दै भने, 'कम्युनिस्ट आन्दोलनको लामो टुटफुट र विभाजनको इतिहास छ। त्यसलाई हामीले निरन्तरता दिनु हुँदैन।'
छलफलका क्रममा प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकार राष्ट्रवादी भएको दाबी गरेका थिए। 'राष्ट्रियतालाई जोगाउँदै अघि बढ्न पर्नेछ। राष्ट्रियताका पक्षमा भएको एकमतलाई पनि सम्मान गर्नुपर्छ,' प्रधानमन्त्री ओलीको भनाइ थियो।
'प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा माग्ने काम भयो। छलफलमा प्रयोग भएको भाषा पनि अशिष्ट र तुच्छ हुन थाल्यो। पार्टीमा यसरी प्रस्तुत हुन शोभनीय पनि हुँदैन। यसले जनतामा सन्तुष्टि पनि दिँदैन,' ती मन्त्रीले प्रम ओलीलाई उद्धृत गर्दै नेपाल लाइभसँग भने।
राज्यमन्त्री तथा मन्त्रीहरूसँग छलफल गर्नुअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका थिए।
बिहीबार राष्ट्रपतिसँग भेटेर आएलगत्तै राखिएको मन्त्रिपरिषद् बैठकले संसद्को बजेट अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।