काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता जोगाउनका लागि भन्दै आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग गहन छलफल गर्ने भएका छन्। आइतबार उपयुक्त समय मिलाएर पार्टी एकता कायम राख्नका लागि गहन वार्ता गर्ने तयारी अध्यक्ष प्रचण्डले गरेको उनको निजी सचिवालयले जानकारी दिएको छ।
पार्टी एकता कायम राख्नका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा अन्तिम कसरत भइरहेका बेला प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका पार्टीका अध्यक्ष ओलीसँग गहन र विस्तृत वार्ता गर्न चाहेका हुन्।
दिउँसो अध्यक्ष प्रचण्डले माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतमलगायतसँग पनि छलफल गरेका थिए। छलफलमा पार्टी फुटको अवस्थामा पुगेको भन्दै नेताहरूले चिन्ता व्यक्त गरेका थिए। माधव कुमार नेपालले लगभग पार्टी फुटी नै सकेको अवस्थामा पुगेको धारणा राखेको प्रचण्ड निकट स्रोतले जानकारी दिएको छ।
तर पार्टीमा अन्तिम प्रयास जारी रहेको पार्टीका प्रवक्ता समेत रहेका नारायणकाजी श्रेष्ठले बताएका छन्। उनले पनि आइतबार अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीसँग गहन र विस्तृत छलफल गर्ने जानकारी दिए।
पार्टीको स्थायी कमिटी बैठक चलिरहेका बेला प्रधानमन्त्री ओलीले संसद् अधिवेशन अन्त्यको निर्णय गरेपछि माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतमले पार्टीमा मनोमानी ढंगले ओली अघि बढेको बताएका थिए। यसपछि अध्यक्ष प्रचण्डले पनि ओलीलाई सच्चिनका लागि आग्रह गरेका थिए। तर प्रधानमन्त्री ओलीले आफू सच्चिन तयार रहेको तर प्रधानमन्त्री वा अध्यक्ष कुनै पनि पद छोड्न तयार नभएको प्रतिक्रिया दिएका थिए। एकीकृत पार्टीको भविष्य के हुने भन्ने विषयमा पनि नेता तथा कार्यकर्ताहरूबीच शंका उपशंका उब्जिएका छन्।
सुरुमा पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा गराउन केन्द्रित भएका छलफल यतिबेला पार्टी एकता जोगाउन स्थानमा पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।