काठमाडौं- पार्टी फुटको संघारमा पुगेको प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई संकेत गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ भएको मन्त्रीहरुसँगको भेटवार्तामा उनले आफ्नो पोजिसन क्लियर गर्न मन्त्रीहरुलाई आग्रह गरेका छन्। ‘पार्टी विभाजन होला जस्तो छ’, प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै भेटघाटमा सामेल एक मन्त्रीले भने, ‘तपाईंहरु कसको पक्षमा लाग्ने हो, स्पष्ट हुनुहोस्।’
उनले एकदुई दिनमा आफूले फेरि बोलाउने मन्त्रीहरुलाई भनेका छन्।
'पार्टी एकता संकटमा छ। अवस्था जटिल छ। यसलाई सुझबुझका साथ मूल्यांकन गर्नू। सानोसानो कुरालाई ध्यान दिनू,' प्रधानमन्त्रीले भनेका थिए।
उनले राष्ट्रिय एकता पक्षमा एक हुन आह्वानसमेत गरेका थिए। प्रधानमन्त्रीले बोलाएको छलफलमा अध्यादेशका विषयमा भने कुनै छलफल भएन।
मन्त्री र राज्यमन्त्रीसँग छलफल गरे पनि सरकारका विषयमा भने कुनै कुराकानी नभएको बताइएको छ। 'पार्टीसँग जोडिएका कुरामात्रै उठे। पार्टी भनेको सचिवालय र स्थायी कमिटीलाई मात्र नबुझ्न भन्नुभयो,' प्रधानमन्त्रीलाई उद्धृत गर्दै अर्का एक मन्त्रीले भने।
पार्टीमा देखिएको पछिल्लो विवादले कहाँसम्म पुर्याउँछ भन्ने निर्क्यौल गर्न सकिने अवस्था नरहेको समेत प्रधानमन्त्रीले राज्यमन्त्री तथा मन्त्रीहरूलाई ब्रिफिङ गरेका थिए।
अर्का मन्त्रीले पनि पार्टी विभाजनतिरै उन्मुख भएको संकेत गरेका छन्। उनले पार्टी फुटकै रुपमा बुझ्नुभन्दा पनि पार्टी एकता सकिएको थिएन, बीचमै असफल भएको रुपमा बुझ्दा सहज हुने नेपाल लाइभलाई प्रतिक्रिया दिए।
शनिबार साँझ राष्ट्रपतिलाई भेटेर फर्किएपछि प्रधानमन्त्रीले मन्त्रिपरिषद्का सदस्यहरुसँग भेटवार्ता गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।