कठमाडौं- अभिनेता भुवन केसीले नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहले आफूमाथि नभएको आरोप लगाएर चरित्रहत्या गरेको भन्दै चलचित्र कलाकार संघमा निवेदन दिएका छन्। केही हप्तादेखि लगातार रूपमा नायिका शाहले युट्युब‚ इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालमा मनगढन्ते कुरा गर्दै आफ्नो चरित्रहत्या गरेको भन्दै उनले निवेदन दिएका हुन्।
केसीले निवेदनमा साम्राज्ञीले आफूविरूद्ध विभिन्न आक्षेप/आरोपहरू लगाई मनगढन्ते र निराधार चरित्र हत्या हुने कुरा गरेकाले त्यस विषयमा आवश्यक छानविन गर्न संघमा निवेदन दिएको उल्लेख गरेका छन्। केसीको चलचित्र ड्रिम्समा उनलाई अभिनय गराउँदा कुनैपनि किसिमको दुर्व्यवहार नगरेको भन्दै आवश्यक छानविन गर्न आग्रह गरेका छन्।
निवेदनमा उनले भनेका छन्‚ ‘भए नभएका कुरालाई सामाजिक सञ्जालमा राखी युट्युबलगायत विभिन्न सञ्चार माध्यममा मेरो चरित्र हत्या गर्ने दुस्साहसमात्र होइन सम्पूर्ण चलचित्र क्षेत्रकै बदनाम भएको अनुभव गरी त्यस सम्बनधमा छानबिन गरी आम दर्शक र चलचित्र क्षेत्रलाई जानकारी गराइदिन निवेदन गर्दछु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।