नमस्कार गर्छन् जात हेरेर
हात मिलाउँछन् हैसियत हेरेर
सलाम गर्छन् पदोन्नति खोजेर
अंगालो हाल्छन् कपडा हेरेर।
किन ‘मानिस’ अदृश्य भएछन्?
आफैंले किनेको सलाईले
के आफैंलाई जलाइरहेछन्?
साथ दिन्छन् खल्ती हेरेर
निम्तो दिन्छन् गाडी हेरेर
छोरी दिन्छन् घर हेरेर
दान दिन्छन् फोटो खिचेर।
किन ‘मानिस’ भौतिकवादी भएछ?
सस्तोमा किनेका नाताहरूले
के आफैंलाई बेचिरहेछन्?
फोन गर्छन् पट्टाइ लागेर
मेसेज गर्छन् बोल्ने आँट नभएर
भेटघाट गर्छन् आशा बोकेर
झार्छन् आँसु गोही बनेर।
किन ‘मानिस’ स्वार्थी भएछन्?
आवश्यकता र इच्छाबीचको लडाइँ
के हार्दै गइरहेछन्?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।