काठमाडौं- सेयर बजार नेगेटिभ सर्किट लागेर बन्द भएको छ। बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८० दशमलव ४१ अंक अर्थात ६.०६ अंकले घटेपछि दिनभरका लागि कारोबार स्थगित गरिएको हो।
बिहीबार १ सय ४२ वटा कम्पनीको १० लाख ६१ हजार ८ सय ९० कित्ता सेयर ८ हजार ४ सय ९ पटक खरिदबिक्री हुँदा ४७ करोड ६६ लाख ५४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार बजार खुलेको २३ मिनेटमा पहिलो नेगेटिभ सर्किट लागेको थियो। पहिलो सर्किट पछि २० मिनेट बन्द भएर खुलेको बजारमा ३ मिनेटभित्रै दोस्रो नेगेटिभ सर्किट लागेको थियो। बजार ५ प्रतिशतले घटेपछि ११ बजेर ४७ मिनेटमा कारोबार ४० मिनेटका लागि स्थगित गरिएको थियो। १२ बजेर २७ मिनेटमा खुलेको बजार १२ बजेर ४० मिनेट जाँदा तेस्रोपटक नेगेटिभ सर्किट लागेर बन्द भएको हो।
बजार खुलेको दोस्रो दिनबाट उकालो लाग्न सुरु भएको यो हप्ता कारोबारको अन्तिम दिन बिहीबार भने फेरी ओरालो लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।