काठमाडौं- कोरोना महामारीमा रोकिएर सुरु भएको प्रिमियर लिग फुटबलमा अहिले पुरानै शैली हराइरहेको जस्तो देखिन्छ। तीव्रताको कमि, पोस्टमा बनेका कम अवसर र घटेको गोल संख्या हेर्दा त्यस्तै लाग्छ।
३० वर्षपछि लिभरपुलले उपाधि जितेर उत्सव मनाइरहँदा अन्य खेलमा प्रिमियर लिगको उत्साह उही देखिँदैन। कोरोनाका कारण रोकिएर सुरु भएको लिग त्यसअघिको अवस्थामा जस्तै नरहेको प्रिमियर लिग नियालिरहेकाहरु बताउँछन्।
म्यानचेस्टर सिटीले ब्रन्लीलाई ५–० ले हराएको खेल र लिभरपुलले क्रिस्टल प्यालेसलाई ४–० ले हराएको खेल यो महिना प्रिमियर लिगका उत्कृष्ट खेल देखिए। म्यानचेस्टर युनाइटेडले सेफिल्ड युनाइटेड र ब्राइटनलाई ३–० ले हराएको खेल पनि अपेक्षाकृत नै थियो। तर ती खेलमा जे देखियो बाँकी त्यसको नजिकसम्म पुगेनन्।
लकडाउनका कारण रोकिएर सुरु भएको प्रिमियर लिगमा अहिले २६ खेल भइसकेका छन्। यसमा पछिल्ला दुई खेललाई छाडेर तथ्यांक हेर्ने हो भने लकडाउनअघिको समयमा भन्दा गोलको संख्या कमि भएको देखिन्छ। पहिले औषतमा हेर्दा एक खेलमा २.७ का दरले गोल भइरहेका थिए भने अहिले त्यो औषत २.२ को छ।
गोलको तथ्यांक मात्र होइन खेलमा हानिने सट प्रहार हेर्ने हो भने पनि पहिले एक खेलमा २५.२ को औषतमा सट प्रहार भएको देखिन्छ भने अहिले २१.५ को औषतमा सट प्रहार भएका छन्। यसलाई हेर्दा लामो समय रोकिएको फुटबलमा फर्कन खेलाडीहरुलाई कठिन भएको हो त?
खेल पुनः सुरु भएपछिको समयमा हेर्दा अन्तिममा रहेका पाँच टिमले आफ्नो कुनै पनि खेल जित्न सकेका छैनन्। तेस्रो स्थानमा रहेको लेस्टर सिटीले पनि आफ्ना पछिल्ला खेल जितेको छैन।
यस्तै मारमा सेफिल्ड युनाइटेड पनि देखिन्छ। लकडाउन अघिको समयमा हेर्दा युरोपियन प्रतिस्पर्धामा स्थान बनाउने देखिएको सेफिल्ड अहिले नवौँ स्थानमा झरिसकेको छ। दुई खेलमा हार र एक बराबरी गरेको सेफिल्डका लागि अहिलेको समय मुस्किल देखिन्छ।
‘यदि म खेलाडी भएको भए अहिलेको अवस्थामा लिग यसरी नहोस् भन्ने चाहन्थेँ’, म्यानचेस्टर युनाइटेडसँग ३-० ले हारेपछि सेफिल्डका प्रशिक्षक क्रिस वाइल्डरले भनेका थिए, ‘तर यो अवस्था यसरी नै जानेछ जस्तो अहिलेको खेल हेर्दा लाग्छ।’
टोटनह्यामका इरिक डायरले वेस्ट ह्यामलाई २-० ले हराएको खेलपछि आफूले केही सुस्त सुरुवात गरेको भए पनि दोस्रो हाफ राम्ररी अघि बढेको बताए। ‘पहिलो हाफमा केही कमजोर सुरुवात भएको भए पनि हामीले दोस्रो हाफमा सुधार गरेर निकै राम्रो खेल्यौँ’ उनले भने।
लकडाउनपछिका २५ खेललाई हेर्ने हो भने त्यसमा १५ खेल पहिलो हाफसम्म गोलरहित बराबरी भएका छन्। तर त्यसमा जम्मा तीन खेल पूरा समयसम्म गोलरहित बराबरीमा नै सकिएका देखिन्छन्। सबै खेललाई हेर्दा पनि ७१ प्रतिशत गोलहरु दोस्रो हाफमा भएका देखिन्छन्।
खेलमा बनाइएका गोलका राम्रा अवसरहरु हेर्ने हो भने पनि लकडाउन अघि र लकडाउन पछिका अवस्थामा निकै भिन्नता देखिन्छ। लकडाउन अघि त्यसरी गोलका राम्रा अवसर बन्ने औषत संख्या ४.१ देखिन्छ भने लकडाउन पछि २.७ मात्र छ।
टोटनह्यामका पूर्वफिडफिल्डर जमाइन जिनसलाई उद्धृत गर्दै बिबिसीले लेखेको छ- ‘प्रायजसो सबै खेलमा पहिलो हाफ निकै कमजोर देखिन्छ। यो लकडाउनपछिको समयमा त्यो असर सबैजसो खेलमा देखिएको छ।’
‘राम्रो प्रि सिजनबिना खेलमा ८० मिनेट मैदानमा कस्तो हुन्छ तपाइँलाई राम्रोसँग थाहा छ। बलजफती खेलिरहेको जस्तो हुन्छ। त्यसैले अहिले खेलहरुमा निकै पछिल्ला समय गोल भइरहेको देखिन्छ। यस्तो बेलामा चोटको खतरा पनि बढी हुन्छ’ उनले भने।
ब्रोनमाउथलाई १–० ले हराएको खेलपछि वुल्भ्सका प्रशिक्षक नुनो स्पिरिटो सान्टोले भनेका थिए- ‘खेलमा पहिलो हाफ दुवै टिमका लागि निकै कठिन थियो। दुवै टिमले राम्ररी खेल्न नै सकेका थिएनन्।’
लकडाउनपछिको समयमा युरोपका प्राय लिगहरुमा ९० मिनेटको समय चार भागमा बाँडिएको देखिन्छ। जसमा दुवै हाफको बीचमा केहीबेर विश्रामको थप समय छ। त्यसको केही फाइदा प्रिमियर लिगमा खेलाडीहरुलाई पनि भइरहेको छ।
पहिलो र दोस्रो हाफका रुपमा रहने फुटबल अबको समयमा चार भागमा नै बाँडिन्छ जस्तो देखिन्छ। बीचको छोटो विश्राममा पनि खेलाडीहरु शक्ति सञ्चय गर्न पाइरहेका छन्। तर त्यसरी हुने विश्रामले खेलाडीहरु बलसँग नै रहने समय र खेलले पाउने तीब्रतामा भने कमि आइरहेको छ।
खेलाडीहरुले मैदानको क्षेत्र समेट्ने औषतलाई हेर्दा पनि पहिले टिमले खेलमा १०८.५ किलोमिटर क्षेत्र समिटिरहेका हुन्थे भने अहिले त्यो संख्या १०७.८ मात्र छ। खेलाडीहरु तीब्र रुपमा दौडने औषत पनि पहिलेको भन्दा कम भएको देखिन्छ।
यो सबैका पछाडि अहिले टिमले खेलमा पाँच खेलाडीसम्म परिवर्तन गर्न पाउने नयाँ नियमका कारण पनि हुनसक्छ। त्यसले पछिल्लो समयमा परिवर्तन भएका खेलाडीले खेलमा भिज्न समय लगाउने भए पनि गोलका अवसर भने पछिल्लो समयमा बढ्ने देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।