काठमाडौं- सुरक्षित उडानका लागि एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना संक्रमण नफैलने गरी निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले आन्तरिक उडान सुरक्षित तवरले गर्ने गरी तयारी थालेको छ।
यसका लागि बुद्ध एयरले बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डमी उडान समेत गरेको छ। सरकारले प्रतिबन्ध लगाएको आन्तरिक उडान सुचारु गर्ने निर्णय गरेसँगै आन्तरिक उडानलाई सुरक्षित तवरबाट सञ्चालन गर्न लागेको एयरका प्रबन्ध निर्देश्क विरेन्द्र बहादुर बस्नेतले जानकारी दिए।
‘बुद्ध एयरले अबको ४० दिनपछि हुने आन्तरिक उडानमा यात्रा गर्ने एक यात्रुबाट अर्को यात्रुमा संक्रमण नफैल्ने गरी उडान गर्नेछ,’ बस्नेतले भने, ‘उडानको मूल्य पनि बढ्ने छैन र यात्रुलाई पनि आफू सुरक्षित रहेको अनुभुति हुन पाउनेगरी उडान हुन्छ।’
बुद्ध एयरले एक घन्टामा ४ वटा उडान गर्नेगरी तयारी गरेको छ। साथै बुद्ध एयरले प्रत्येक उडानपछि जहाज डिसइन्फेक्सन समेत गर्ने भएको छ।
साथै बुद्ध एयरले विमानस्थलमा उडानका लागि आउने यात्रुका लागि कम्पनीले तयार पारेको कोभिड–१९ को सुरक्षा निर्देशिका र नेपाल नागरिक उड्डयन प्राधिकरणले जारी गरेको सुरक्षा मापदण्ड पनि पूर्ण रुपमा पालना गर्ने प्रतिबद्धता गरेको छ।
उडान लागत खर्च बढेता पनि कम्पनीको अपरेशन खर्च घट्ने भएको हुँदा हवाई भाडा पनि कम हुने बस्नेत बताउँछन्। यात्राको क्रममा यात्रुले अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्नेछ। कतिपय अवस्थामा यात्रुले लगाएको मास्क यात्राको क्रममा सुहाउँदो नभएको अवस्थामा कम्पनीले नै दिने भएको छ।
यसैगरी यात्रुलाई कम्पनी आफैं भाइजर दिनेछ। तर, भाइजरको लागत मूल्य ५५ रुपैयाँ भने यात्रुबाट लिने कम्पनीले जनाएको छ। साथै यात्रुले चेकिङदेखि जहाज चढ्ने क्रममा र झर्ने क्रममा सेनिटाइजर समेत प्रयोग गराउने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।