काठमाडौं- सरकारको काम गराइमा असन्तुष्टी राख्दै प्रदर्शन गरिरहेका युवाहरुले शनिबार माइतिघरमा प्रदर्शन गरे। कोरोना भाइरस (कोभिड १९) को जोखिम रहेकाले शारीरिक दुरी बनाएर व्यवस्थित देखिएको प्रदर्शनमार्फत उनीहरुले सरकारलाई प्रश्न गरे।
कोरोना महामारीविरुद्ध सरकारको काम गराइ र भ्रष्टाचारका विषयमा उनीहरुले विरोध गरिरहेका थिए। गएको मंगलबार बालुवाटारमा प्रदर्शन गरेर सुरु भएको व्यवस्थित क्वारेन्टाइन, शतप्रतिशत पिसिआर टेस्ट, आरडिटी परीक्षण बन्द गर्नुपर्ने, खर्च पारदर्शी हुनुपर्ने लगायत माग उनीहरुले आज पनि राखे।
कालापानी, लिपुलेक र लिम्पियाधुरालगायत भूभाग नक्सामा समेट्न आज नै संसदमा संविधान संशोधन हुने भएकाले माइतिघरको प्रदर्शनलाई राष्ट्रवादसँग जोडेर विरोध भइरहेको भए पनि प्रदर्शनकारीहरुले कोरोना जोखिममा राम्ररी काम गर्नुपर्नेबाहेकका माग राखेका थिएनन्। उनीहरुले नयाँ नक्साको स्वागत गरिएको ब्यानरहरु पनि बोकेका थिए।
बिहान माइतिघर निस्कने हरेक चोकमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। प्रदर्शनमा जानेहरुलाई प्रहरीले रोकिरहेका थिए। बिहान प्रदर्शन सुरु हुने बेलामा माइतिघरबाट नै केही प्रदर्शनकारी प्रक्राउसमेत परे। मोबाइल सम्पर्क नहोस् भनेर सरकारले जामर पनि राखेको थियो। जसले गर्दा नेटवर्क विच्छेद भइरहेको थियो।
माइतिघर पुग्ने बाटोमा पैदलयात्रुसहित सवारीसाधनमा रहेकालाई सोधपुछ र खानतलासी गरिएको थियो। जोखिमका बेला भिडभाड नहोस् भनेर प्रहरीले उच्च सतर्कता अपनाएको थियो। मुस्किल अवस्थाबाट माइतिघरमा पुगेका प्रदर्शनकारीले शारीरिक दुरी बनाएर सुरक्षित रुपमा नै सरकालाई प्रश्न राखे।
तस्बिरमा हेर्नुहोस्,
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।